गवाहीले गवाही जन्माउँछ -पास्टर सन्जीव थापा

turahi-news

कुरा सत्य हो, गवाहीले गवाही जन्माउँछ । गवाहीले उत्प्रेरणा दिने काम गर्छ । त्यति मात्र हैन मानव जीवनको शरीर र आत्मामा आशिष पनि ल्याउनेकाम गर्छ । मानिसले संसारमा आइसकेपछि अनेक–अनेक खुड्किलाहरू पार गर्नुपर्छ । मानिसले कहिल्यै मनमा नसोचेको अनेक–अनेक अप्ठ्यारा बाटोहरू भएर जानुपर्छ । त्यो आफँैमा बढि संवेदनशील कुरा हुन् । त्यो एउटा सामान्य मानिसले कल्पना समेत गर्न सक्दैन । ति कठिन बाटोहरू पार गरिसकेपछि जीवन एउटा परिवर्तनको संघारमा पुग्छ । विपद्को समयमा पनि प्रभुमा विश्वास र प्रार्थनाद्वारा ति संकष्ट कटाई जीवनमा परिवर्तनको रूप लिन्छ,अनि बन्छ गवाही । 

पास्टर सञ्जीव थापा, उहाँ हाल पुनस्र्थापना मण्डली, लेकसाइड पोखरामा बिगत केहि बर्षदेखि पास्टरीय सेवाकाई गर्दै आइराख्नुभएको छ । आज उहाँकै गवाही राख्दैछु ।

उहाँ नेपालको पुर्वी पहाडी पाँचथर जिल्ला लुङरूपा भन्ने ठाउँमा एउटा साधारण कृषक परिवारमा जन्मिनुभो । जिविकोपार्जनको निमित्त परिवार कृषक पेशामै सीमित हुनुहुन्थ्यो । उहाँको स्कुले जीवन लुङरूपा मै भयो । आर्थिक अवस्था कमजोर भएको कारण उहाँको औपचारिक अध्ययनहरू त्यति राम्रो अघि बढ्न सकेन ।

पारिवारिक माहोल प्रभुमा हुनुहुन्नथ्यो । १४ बर्षको कलिलो उमेरमा उहाँलाई एक किसिमको नराम्रो खालको टाउको दुख्ने बिरामीले छोयो । अत्यन्तै दुखाई हुने खालको त्यो बिमारीले निकै लामो समयसम्म सताइरह्यो । उपचारको लागि कुनै कसुर बाँकी राख्नुभएन । औषधोपचार देखिलिएर धामी झाँक्रि हुँदै माइखोला, पाथीभारा जस्ता मन्दिरहरूमा भाकल गर्ने ठाउँ बाँकी राख्नु भएन । तर पनि निको हुनु भएन । 

अनेकाँै उपचार गर्नुभयो । निको नभएपछि अन्तिम विकल्पमा बुबाआमाहरूले एउटा निधो गर्नुभयो । मगर जातीहरूको एउटा धामी हुँदारहेछ । धामीकहाँ देखाउन जाने र बुझ्ने निधो गरे । धामीलाई देखाउने क्रममा भने “तिमीहरूको पितापुर्खाचाहिँ धेरै पहिले अरिङ्गाल काढ्ने क्रममा डढेर मरेको रहेछ । त्यसको सेहेले यो कान्छालाई चाहिँ छोएको छ । त्यसकारण यो कान्छालाई एकदिन छिटै नै लैजाने छ । यिनलाई जे गर्न मन लाग्छ गर्न देउ । किनकी यिनको समय धेरै छैन । दुई तिन महिनामा भीरबाट या कतैबाट लडेर मर्छ ।” झाँक्रीबाट यस्तो विश्वास नै गर्न नसकिने खालको कुरा आएपछि झनै मानशिक रूपमा सताउन थाल्यो र सोच्न थाल्यो कि “कुन चाहिँ भगवान छ कि मलाई बचाउने ? किनभने म र मेरो समाजले मानिल्याएको झाँक्रि समेतले भनेपछि मलाई बचाउने अब को छ ?” मनमा अनेकन सोचहरूले पास्टर सञ्जीव थापालाई दिनदिनै सताउन थाल्यो । उहाँलाई त्यो कलिलो उमेरमा लाग्न थाल्यो कि “म किन जन्मे । मरेपछि अब म कहाँ जान्छु होला ।”

उहाँको उमेर त्यस्तै १४÷१५ बर्षको थियो । यसरी समय बित्दै जाने क्रममा एउटा समस्याबाट छुटकारा भन्ने शिर्षकको ट्रयाक्स भेट्टाउनुभयो र पढ्नुभयो । पढ्दै जाने क्रममा केहि बुझ्नुभयो । केहि बुझ्नुभएन । तर अन्त्यमा घँुडा टेकेर गरिएको एक प्रार्थनाको चित्र र केहि हरफहरू लेखिएका थिए । हरफमा यदि तपाई बिरामी हुनुहुन्छ भने यो प्रार्थनाको हरफलाई प्रयोग गर्दै चित्रमा देखाए जसरी प्रार्थना गर्नुहोस् भनेर लेखिएको थियो । उहाँले घँुडा टेकेर प्रार्थना गर्नुभयो । अचानक घोचिएको काँडा निक्लेको जस्तो महशुस गर्नुभयो । हप्ता दिनमा उहाँ धेरै निको भईसक्नुभएको थियो र त्यसैदिन देखि नै उहाँले प्रभु येशुलाई चिन्ने मौका प्राप्त गर्नुभयो । र उहाँलाई आफ्नो मुक्तिदाता भनि स्विकार गर्नुभयो । यति हुँदा पनि उहाँलाई क्रिष्टियन कस्तो हुन्छ र चर्च कस्तो हुन्छ भन्ने चाहिँ उहाँलाई अझै पनि थाहा थिएन । उहाँलाई निको हुँदै गएपछि खुशीको कुरा परिवारलाई सुनाउनुभयो । तर परिवारले जब त्यो कुरा सुने परिवारमा झन् खुशीको बादल छाउँछ भन्ने पक्कै सोच्नुभएको थियो तर भयो अर्कै । “ए तँ क्रिष्टियन भईछस् ” भन्दै नराम्रो खालको व्यवहार परिवारले गरे । “हिजो  मर्न जाँदैछु भन्दा परिवार आफै दुःखी हुने, तर जब मैले घुँडा टेकेर प्रार्थना गरि निको भएर त्यो कुरा सुनाउँदा क्रिष्टियन भइस् भन्दै हेप्ने त्यो व्यवहारले मलाई घरमा बस्न पटक्कै मन लागेन ।” भन्दै आफ्नो विगत संझनुभयो ।  फलस्वरूप घरबाट निस्केर शान्तिको खोजी बाहिर निस्के । र पोखरा पुग्नुभयो ।

पोखरा आउँदा चिनजानको मान्छे कोहि थिएन । त्यो समय उहाँले भेटेसम्म सबै कामहरू गर्नुभयो । बाटोमा ढुंगाहरू लोड अनलोड गर्ने, लेबर कामहरू पनि गर्नुभयो । चिनेको कोहि नभएतापनि पुर्बतिरकै दाईहरू भेट्नुभयो । उहाँहरूसँगै बस्ने, काम गर्ने यतिसम्म कि कुनैसमय एक प्याकेट चाउचाउको भरमा ३ दिनसम्म पनि बसेको अनुभब उहाँले सुनाउनुभयो । उहाँसँगको त्यस्तो कठिन दिनहरू भएता पनि उहाँ शान्तिमा हुनुहुन्थ्यो । प्रभु येशुको अनुग्रहमा हुनुहुन्थ्यो । किनभने उहाँलाई चंगाई मिलिसकेको थियो । यसो हँुदा उहाँले चर्चहरू कहाँ पाइन्छ होला भन्दै खोज्न थाल्नुभयो । खोज्दै जाने क्रममा उहाँसँगै काम गर्दा घर निर्माण गर्ने एक जना दाजु अहिले हाल सेवाकाई गरिराख्नुभएको मण्डली पुनस्र्थापना मण्डली लेकसाइडको अगुवा हुनुहँुदो रहेछ । उहाँमार्फत चर्चमा जाने मौका उहाँलाई प्रभुले दिनुभयो ।

चर्चमा गइसकेपछि सबै कुराको श्रृष्टिकर्ता प्रभु येशु नै हुनुहुन्छ भनेर जान्ने अवसर उहाँलाई झन् गहन रुपमा थाहा हुँदै गयो । त्यसैगरी उहाँ नै मुक्तिदाता हुनुहुन्छ र जीवनभरी उहाँकै सेवा गर्छु भनेर पछ्याउने निर्णय पनि उहाँले त्यहि समय गर्नुभयो । एक किसिमले आज जति उत्साहित र आशिषित हुनुहुन्छ जब उहाँ चर्च जान थाल्नुभयो त्यहि समय देखि उहाँ दिन प्रति दिन आशिषित हुँदै जानुभयो सिक्दै जानुभयो र प्रभुको कामको लागि भविष्यमा पनि धेरै सेवा गर्ने संकल्प लिनुभयो । जसरी मर्दैछु भन्ने झाँक्रिबाट थाहा पाएको मान्छे प्रभुको अनुग्रहमा निको हुनुभयो त्यहि समाचार अरूलाई सुनाएर अरूलाई पनि बचाउन चाहानुभयो ।

यसरी पोखरामै रहेर पास्टर देबुसिंह दाहालसँग सँगै सेवाकाई गर्ने अवसर प्राप्त भयो । सेवामा उहाँ बृद्धि हुँदै जानुभयो । उहाँ आफ्नो लेबर काम पनि संगै गरिराख्नुभएको थियो । एकदिन पास्टर देबुसिंह दाहालले उहाँलाई भन्नुभयो “तपाई प्रभुमा अझै पनि बढ्नुपर्छ । त्यसको निम्ति केहि प्रभुको बारेमा सिक्न जरूरी छ ।” भन्दै बाइबल स्कुलमा उहाँलाई पठाउनुभयो र बाइबल स्कुल पढ्नुभयो । बाइबल स्कुल पढेर फर्केपछि पनि सेवाकाइलाई निरन्तरता दिँदै जानुभयो ।

सन् २००५ मा पास्टर देबुसिंह दाहालको स्वर्गरोहण हुनुभएपछि मण्डली समुदायले पास्टर सञ्जीव थापालाई पास्टरको रूपमा सन् २००८ मा अभिषेक गरे । उहाँको विवाह पनि सन् २००५ तिरको अन्तिम तिर नै भएको थियो । र उहाँको केहि समयमै एक जना जना छोरा स्मिथको पनि जन्म भयो ।

पारिवारिक जीवन अगाडि बढ्दै गइरहेको थियो । तर एकदिन बिर्सनै नसकिने घटना उहाँको जीवनमा घट्यो । सन् २०१०, डिसेम्बर २६ को क्रिष्मसको भोलिपल्ट उहाँ पोखरा देखि पाल्पा ससुराली जादै हुनुहुन्थ्यो । मोटरसाइलमा श्रीमती, छोरा र आफु सहित ३ जना हुनुहुन्थ्यो । पोखरा–पाल्पा जाने क्रममा पोखरादेखि नजिक भिउपोइन्ट भन्ने ठाउँमा यात्राको क्रममा विपरित दिशातिरको माइक्रोबसले उहाँहरूलाई ठक्कर दियो । यो निकै ठुलो दुर्घटना हुन पुग्यो । उक्त दुर्घटनाको क्रममा उहाँको दाहिने खुट्टा पुर्णरूपमा छिनेको थियो । श्रीमती, छोरा र आफु ठक्करले डिलमा रगताम्य हुनुभयो । “जुन गाडिले मलाई विपरित दिशाबाट हान्यो त्यहि गाडिले ब्याक गरेर अझै मार्ने प्रयास ग¥यो । तर त्यसबखत प्रभुको अनुग्रह ममाथि रह्यो, ब्याक गर्ने क्रममा त्यहाँका यात्रुहरूले ड्राइभरलाई चिच्याउँदै रोक्न लगाए । ड्राइभर रोकेर भाग्यो । र म बाँच्न सफल रह्यो ।” उहाँले भन्नुभयो ।  र यो घटनाले उहाँमा प्रकाश आयो कि दुष्टको योजना चाहि परिवारलाई नाश गर्नुथियो तर त्यो भएन । प्रभुको महिमा उहाँको जीवनबाट संसारलाई देखाउनु पनि थियो त्यो अहिले आएर पास्टर सञ्जीव महशुस गर्नुहुन्छ ।

दुर्घटना भइसकेपछि उहाँलाई २ जना कालो अपाचे बाइकबाट आउँदै गर्नुभएको ब्यक्तिहरूले रोकेर उठाउनुभयो । त्यससँगै एउटा बस पनि आयो र ति २ ब्यक्तिहरूले भने कि “यो दाईलाई तपाईहरूले लगेर पोखराको चर्चित हस्पिटल चरक हस्पिटलमा लगिदिनुपरो । जति लाग्छ म तिर्छु । ” उहाँ अचम्मित पर्नुभयो कि कहिल्यै नचिनेको मान्छेले यति धेरै कसरी सहयोग गर्नुभयो भनेर । उहाँले चाहिँ मणिपाल हस्पिटल जाने निधो गरिराख्नुभएको थियो । हस्पिटल जाने क्रममा पनि निकै गाह्रो अवस्था थियो । रगत उति नै बगिरहेको थियो । हातमा एउटा खुट्टा आफै बोक्दै जानुभयो । बसको कन्डक्टर भाईलाई खुट्टा बोक्न भन्दा मलाई डर लाग्छ भन्दै नाइनास्ति गरे । यति सम्म कि हस्पीटलमा नर्सहरूले समेत सुरूमा पुग्दा छुन एकदम डराउनुभयो । चिनेको ट्याक्सीको ड्राइभरहरूले चिनेको दाई रहेछ भन्दै उचालेर भित्रि आपतकालिन कक्षमा लैजानुभयो ।

त्यहि समयमा डा. दिगबिजय तिमिल्सिना जो बरिष्ठ प्लास्टिक सर्जन साथै हाडजोर्नी विशेषज्ञ हुनुहुन्छ उहाँले पास्टरको अवस्था देखेपछि सिधै अप्रेशन रूममा लैजान अनुरोध गरे । त्यहि समयमा पास्टर सञ्जीवले उक्त डाक्टरलाई अनुरोध गर्नुभयो “डा. साप मेरो खुट्टा जसरी हुन्छ जहाँ हुन्छ जोडिदिनुस् । परेको खर्च म व्यहोर्नेछु । ” अरु जो मान्छे उहाँलाई भेट्न आए सबै रोए । तर उहाँ आफैले नरुनुस् भन्दै उल्टो सान्त्वना दिन थाल्नुभयो । अप्रेशन रुममा लगिसकेपछि डाक्टरहरुले अप्रेसन गरे र सफल पुर्बक अप्रेशन भयो ।

अप्रेशन त भयो तर डाक्टरहरुले उहाँलाई भने “हाम्रो त जोड्ने काम हो । जोडियो तर जुन खुट्टा छिनिएको छ त्यो जोडिएको यानिकी छिनीएको भागमा रगत सञ्चालन हुनुपर्छ । यदि त्यसो भयो भने राम्रो हुन्छ नत्र खुट्टा त फाल्नुपर्छ” ।

त्यहि समय उहाँले प्रार्थना गर्नुभयो परमेश्वरको बचन लिएर र परमेश्वरसँग भन्नुभयो “प्रभु । तपाईले नभएकोहरुलाई त खुट्टा दिनुहुन्छ मेरो त छ । प्रभु जोडिदिनुहोस् मेरो खुट्टा” । उहाँको परिवार, मण्डली, उहाँलाई चिन्ने देश विदेशका सम्पुर्ण विश्वासीहरुले उहाँको निम्ति प्रार्थना गरिरहे । 

नभन्दै केहि समयमै उहाँको खुट्टामा रगल सञ्चालन हुदै गयो । क्रमिक रुपमा निको हुँदै जानुभयो । डाक्टरहरु पनि अचम्म मान्न थाले । त्यसको ६ महिनापछि फेरी चेकअपको क्रममा डाक्टरले  अचानक काठमाण्डौ जानुपर्ने सल्लाह दिए । खुट्टा जोड्ने काम त सकिएता पनि खुट्टा चाहि कुहिसकेको रहेछ । त्यसमा हड्डीको काम भएको रहेन छ । त्यसलगतै उहाँ काठमाण्डौ बिएण्डबि हस्पीटल जानुभयो । त्यहाँका बरिष्ठ प्लास्टीक सर्जन बसन्त माथेमा ले उहाँको अवस्था हेर्नुभयो । खुट्टा कुहिसकेको र गन्हाएको थियो । उहाँले हेरेर भन्नुभयो “सञ्जीप भाई हेर्नुस् । म तपाईलाई १०० प्रतिशत लेखेर दिन्छु कि यो तपाईको खुट्टा काटेर फाल्नुपर्छ । यो राम्रो हुँदैन । तपाईको डुप्लीकेट खुट्टा लगाउनुपर्छ । ताकि  मैले कहि समय अघि जोडेको त्यस्तै खुट्टा पछि सगरमाथा समेत चढेको छ । ” एकतरिकाले उहाँलाई परामर्श, सल्लाह दिइराख्नुभयो ।

तर पास्टर सञ्जीवको दृढ विश्वास प्रभुमा थियो । उहाँको निम्ति सारा मण्डली परिवार शुभचिन्तकहरुको प्रार्थना निरन्तर थियो नै संगै आर्थिक लगानी पनि उत्तिकै थियो । त्यसकारण डाक्टरलाई काटेर नफाल्ने आफ्नै खुट्टा चाहिन्छ बरु तपाईहरुले नसके अन्त ठाउँ जान्छु भनेर अनुरोध गर्नुभयो । यसो भनिराख्दा डाक्टर माथेमा ले तपाई त पागल पो हुनुहुँदो रहेछ भन्नुभयो । शुक्रबारको दिन थियो । साँझ हुन लागिसकेको थियो । साथीहरु एकदम आत्तिसकेका थिए । बिएण्डबि हस्पिटलको एउटा नियम के रहेछ भने कुनै डाक्टरले हस्ताक्षर नगरीकन त्यस्तो खालको बिरामीको भर्ना नहुने रहेछ । छेवैमा रहेका सेक्युरीटी गार्डले हामीलाई एक जना अर्को डाक्टरलाई देखाउनुभयो । उहाँ हुनुहुन्थ्यो डा. सरोज रिजाल । उहाँले हस्ताक्षर गरिदिनुभयो । उहाँलाई त्यसको २ दिनपछि अप्रेशनमा लगियो । नभन्दै अप्रेशन पछि १५, २० दिन भित्रमा उहाँको घाउँहरु निको हुदै गए । त्यो आफैमा प्रभुको अनुग्रहद्वारा भएको हो । यसरी उहाँको ९ वटा जति अप्रेशन भयो र १८ महिना जति उहाँ हस्पीटलमा बस्नुभयो । र प्रभुको अनुग्रहमा बिस्तारै सबै निको भयो ।

आफ्नै यो दुर्घटनाबाट चाहि तपाईले के प्रकाश पाउनुभयो भनेर मैले सोधे । जवाफमा उहाँले आफ्नो सन् २००० मा बाइबल स्कुल पढ्न जादा खेरीको संझना दिलाए । बाइबल स्कुल गएर कक्षामा बसिसकेपछि त्यहाँका पढाउने शिक्षकले भन्नुभएको थियो कि “तपाईको दर्शन के हो ? बिना दर्शनको ब्यक्ति पढ्न उचित छैन ” त्यहि समय उहाँले ३ दिन उपबास बसेर प्रार्थना गर्नभएछ र प्रभुसँग सोध्नुभएछ । र उहाँले सपनाद्धारा धेरै डाँडाकाडा, धेरै ब्यक्तिहरुको माझमा सु समाचार सुनाइरहेको दर्शन देख्नुभयो र बाइबल स्कुल पढेर आएपछि उहाँले आफ्नो दर्शनमा निश्चिन्त भई मण्डलीमा सेवाकाई गरिराख्नुभयो । विवाह त्यहि समय भो तर उहाँले आफ्नो दर्शन चाहि वास्ता नगरेको कुरा मलाई ब्यक्त गर्नुभयो । तर जब दुर्घटना भयो दुर्घटना भएको तेश्रो रात उहाँलाई त्यहि दर्शन प्रभुले देखाउनुभयो । उहाँलाई मात्र नभएर श्रीमतिलाई समेत त्यहि दर्शन देखाउनुभएको कुरा उहाँले बताउनुभयो । त्यहि दिन चाहि अलिक दृढताका साथ प्रभुमा निश्चित हुनुभयो र प्रभुलाई भन्नुभयो “प्रभु मेरो खुट्टा होस् नहोस् तर मलाई तपाईले दिनुभएको जिम्मेवारी इमान्दारँी भएर पुरा गर्नेछु । ”

सन् २०१३ देखि उहाँले फिल्मद्धारा प्रभुको सुसमाचार विभिन्न ठाउँमा गएर सुनाउने र आफ्नो गवाही समेत बताउने काम गर्नुभयो । र उहाँको आफ्नै एउटा टिम छ । उक्त टिमलाई नेपालको धेरै क्षेत्रमा फैल्याउने र प्रभुको सुसमाचार सुनाउने भन्ने उहाँको चाहाना छ । नेपालको पुर्व मेचिदेखि पश्चिम महाकालीसम्ममा लगभग २५, ३० ठाउँमा आजसम्म जानुभएको छ । साथै २०० भन्दा बढि ठाउँहरुमा फिल्म देखाउनुभएको रहेछ । त्यहि कार्यलाई आजसम्म उहाँले निरन्तरता दिइराख्नुभएको छ । साथै पुनस्र्थापन मण्डलीमा उहाँ पास्टरको रुपमा सेवा पनि गरिराख्नुभएको छ भने आफ्नो मण्डली विस्तार पनि गरिराख्नुभएको छ ।

सक्रियता पुर्वक देशको धेरै व्यक्तिहरुलाई बचाउने कार्यमा लागिराख्नुभएका पास्टर सञ्जीव थापाको गवाही धेरै ब्यक्तिहरु आशिषित र प्रभुमा घुडाँ टेकेका छन् । यो आफैमा धेरै असल कुरा हो । परमप्रभुको महिमा होस् । 

लेखक: अनुज कुलुङ