ईस्टर महोत्सव संयुक्तरुपमा मनाउँने सहमती नजिक

turahi-news

कुमारसिंह विष्ट । ११ फागुन ०७४ । काठमाडौं । देशभरका चर्चहरुको उत्सुक्ताको विषय वनेको राजधानी काठमाडौंमा मनाउँने भनिएको यस वर्षको ईस्टर महोत्सव (पुनरुतथान महोत्सव) २०१८ अन्ततः राजधानीका काठमाडौं र ललितपुर जिल्लाका सम्पूर्ण चर्चहरु एकसाथ मिलेर मनाउँने सहमतीको नजिक पुगेका छन् । 
 
उपत्याकाव्यापी ईस्टर महोत्सव आयोजक समिति र राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका सदस्यहरु बीच यही विहीबार ललितपुरको पाटन चर्चमा वसेको दुई पक्षिय वैठकले रेभरेण्ड सिमोन पाण्डेको संयोजकत्वमा सात सदस्यीय समायोजन समिति गठन गरि आज शुक्रबार विहान ललितपुरको एक क्याफेमा उक्त समायोजन समितिका सदस्यहरुबीच अर्को वैठकले रेभरेण्ड सिमोन पाण्डेको अध्यक्षतामा ईस्टर महोत्सव आयोजक समिति गठन गरी यस वर्षको ईस्टर महोत्सव सामूहिकरुपमा मनाउँने निर्णयको नजिक पुगेका हुन् ।
 
आज शुक्रबार विहान ललितपुरमा वसेको समायोजन समितिको वैठकले यस अघि दुई पक्षका ईस्टर महोत्सव आयोजक समितिलाई विघटन गरि आसन्न ईस्टर महोत्सवलाई आशिष्मय प्रकारले मनाउँन एक वृहत ईस्टर महोत्सव आयोजक समिति गठन गरेको हो । 
आयोजक समितिले यस वर्षको ईस्टर महोत्सवलाई ‘ईस्टर महोत्सव– २०१८ काठमाडौ नेपाल’ नाम दिने भएको छ । यही समितिले रेभरेण्ड सिमोन पाण्डेको अध्यक्षतामा ईस्टर महोत्सव आयोजक समिति गठन गरि यसलाई पूर्ण रुप दिएको कुरा वैठक समापनपछि पास्टर राजेन्द्र मल्ले तुरही न्यूजलाई बताउनु भयो ।
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका प्रवक्ता तथा उप–महासचिव सागर बैंजुले सहअध्यक्ष दुई जना राख्ने कुरामा सहमती जुट्न नसकेको अरु कुरामा सहमती भएको बताउनु भएको छ । 
ईस्टर महोत्सव आयोजक समितिमा पास्टर राजेन्द्र मल्ल र पास्टर पदम पराजुली संयोजक रहने निर्णय भएको छ भने सह–संयोजकमा पास्टर सागर बैजु, पास्टर चन्द्रमान नेपाली, पास्टर के.वी.सुनुवार र पास्टर रबिन बैंद्य हुनुहुन्छ । 
त्यसैगरि सह–अध्यक्षमा रेभरेण्ड पास्टर ज्योतीकुमार सुनुवार र रेभरेण्ड पास्टर फिलेमोन क्षेत्री रहनु भएको छ भने उपाध्यक्षमा रेभरेण्ड पास्टर रुपनारायण तिम्सिना, रेभरेण्ड पास्टर शमूएलडन कार्थक, रेभरेण्ड पास्टर रेन्जी लामा र रेभरेण्ड पास्टर शमूएल सोदेम्बा रहनु भएको छ । 
 
त्यसै गरि उक्त आयोजक समितिको सचिवमा एल्डर शेर एसी, पास्टर साम पौडेल र पास्टर किरण दास रहनु भएको छ भने सह–सचिवमा पास्टर बिरवहादुर तामाङ रहनु भएको छ । कोषाध्यक्षमा पास्टर जे.वी.भित्रकोटी र पास्टर विश्वदेव खड्का रहनु भएको छ । 
त्यसै गरि सह–कोषाध्यक्षमा पास्टर हेमजर्घा मगर, पास्टर रामकृष्ण आले,पास्टर हेम थापा र पास्टर क्रिस श्रेष्ठ रहनु भएको छ ।
 
‘ईस्टर महोत्सव २०१८ काठमाडौं नेपाल’ ले मण्डलीका वरिष्ठ पास्टरहरुलाई सल्लाहाकारमा राख्ने भएको छ । समाचार श्रोतका अनुसार उक्त दिन राष्ट्र प्रमुख वा प्रधानमन्त्रीलाई प्रमुख अतिथिकोरुपमा निम्ता दिने निर्णय आयोजक समितिले गरेको छ । 
 
राजधानीका काठमाडौै र ललितपुरका सम्पूर्ण चर्चहरु आसन्न ईस्टर महोत्सवमा सहभागी भई संयुक्तरुपमा मनाउँने सहमतीको नजिक पुगेपछि यसले देशभर तथा विदेशका नेपालीभाषी चर्चहरुमा सकारात्मक संदेश प्रवाह हुने निश्चित देखिन्छ । नेपाली पात्रो अनुसार यस वर्ष ईस्टर महोत्सव चैत १८ गते परेको छ । 
यस वारेमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजसँग वुझ्दा अझैपनि केही कुरामा सहमती गर्नु पर्ने भएकोले यही हप्तामा यो समितिले पूर्णता पाउँने बताउनु भयो । फाइल तस्बिर ।