ईस्टर महोत्सव खुल्लामंचमा संयुक्तरुपमा आयोजना हुने

ईस्टर महोत्सवमा सहभागीताका लागि आव्हान

turahi-news

तुरही न्यूज । काठमाडौं । अन्ततः काठमाडौं उपत्याकाका सम्पूर्ण चर्चहरुको संयुक्त आयोजनामा रन्तपार्कस्थित खुल्लामंचमा यस वर्षको ईस्टर महोत्सव आयोजना गरिने सहमती जुटेको छ ।
यही मंगलबार कुमारीपाटीको क्वाइनोनिया चर्चमा रेभरेण्ड सिमोन पाण्डेको संयोजकत्वमा समायोजन समितिका सदस्यहरु बीच भएको लामो छलफलपछि उहाँहरु आसन्न ईस्टर महोत्सव सामूहिकहरुपमा मनाउँने निर्णयमा पुगेको कुरा समायोजन समितिका सदस्य पास्टर सागर बैंजुले तुरही न्यूजलाई बताउँनु भयो । 
समायोजन समितिले रेभरेण्ड सिमोन पाण्डे अध्यक्ष रहने गरि ईस्टर महोत्सव आयोजक समिति चयन गरेको छ । जसको सह–अध्यक्षमा रेभरेण्ड पास्टर फिलेमोन क्षेत्री, रेभरेण्ड पास्टर राजेन्द्र मल्ल, रेभरेण्ड  पास्टर ज्योतीकुमार सुनुवार, रेभरेण्ड पास्टर शमूएल सोदेम्बा र रेभरेण्ड पास्टर रेन्जी लामा हुनुहुन्छ ।
त्यसैगरि उपाध्यक्षमा पास्टर राजु सुन्दास, पास्टर शमूएल कार्थक र पास्टर रुपनारायण तिमिल्सैना रहनु भएको छ ।
त्यसैगरि ईस्टर महोत्सव आयोजक समितिको संयोजकमा रेभरेण्ड पास्टर पदमनाथ  पराजुली हुनुहुन्छ भने सह–संयोजकमा पास्टर सागर बैंजु, पास्टर चन्द्रमान नेपाली, पास्टर रबिन बैद्य र पास्टर के.वी.सुनुवार रहनु भएको छ । त्यसैगरि सचिवमा एल्डर शेर एसी, पास्टर हर्क खड्का, पास्टर साम पौडेल र पास्टर किरण दास हुनुहुन्छ । 
सह–सचिवमा पास्टर बिरवहादुर तामाङ हुनुहुन्छ । आयोजक समितिका अनुसार सह–सचिवमा तथा अरु पदमा पास्टरहरुलाई पनि समेटिने छ । त्यसैगरि कोषाध्यक्षमा पास्टर जे.वी.भित्रकोटी र पास्टर विश्वदेव खड्का हुनुहुन्छ र सह–कोषाध्यक्षमा पास्टर रामकृष्ण आले, पास्टर हेम जर्घा मगर र पास्टर हेम थापा हुनुहुन्छ । त्यसैगरि संगितको जिम्मेवारी पास्टर शमूएल डन कार्थकलाई दिइएको छ । 
ईस्टर महोत्सव तथा पुनरुतथान महोत्सव आयोजक समितिका अध्यक्ष रेभ पास्टर सिमोन पाण्डेले खुल्लामंचमा आयोजना हुन गईरहेको आसन्न ईस्टर महोत्सवमा राजधानीका सम्पूर्ण मण्डलीहरु सहभागी भई आशिष्मय प्रकारले सम्पन्न गर्नलाई आव्हान गर्नु भएको छ । उहाँले येशूको पुनरुतथान महोत्सवलाई सवै मण्डलीहरु मिलेर संयुक्तरुपमा मनाउँनु सवै मण्डलीको लागि असल भएको प्रतिक्रिया दिनुभयो ।
आराधना चर्चका वरिष्ठ पास्टर तथा एनसीएफ नेपालका अध्यक्ष रेभरेण्ड (सूर्यवहादुर बल) हनोक तामाङले ईस्टर महोत्सव संयुक्तरुपमा मनाउँने सहमती भएपछि हामी मण्डलीहरुमा उद्देश्यगत रुपमा एकता भएको भन्दै ‘हामी इसाईहरु एकतामा छौ’ भन्ने संदेश दिएको प्रतिक्रिया दिनुभयो । उहाँले ईस्टर पनि संयुक्तरुपमा आयोजना हुने सहमती भएसँगै यसले नेपाली मण्डलीहरुमा राम्रो संदेश प्रवाह गरेको भन्नुभयो ।
राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालका अध्यक्ष सी.वी.गहतराजले येशूको पुनरुतथान महोत्सव इसाईहरुको एक महान उत्सव भएकोले यस दिन  राज्यले सार्वजनिक विदाको व्यवस्था गरी ईस्टरलाई राष्ट्रिय पर्वको मानउता दिनुपर्ने भन्दै सामूहिकरुपमा ईस्टर मनाउँने सहमती जुटेपछि यो निर्णय नेपाली मण्डलीहरुको निम्ति नै निकै स्वागतयोग्य भएको जिकिर गर्नुभयो ।
आत्मिक संगति नेपालका अध्यक्ष तथा एनइएचसी नेपालका महासचिव रेभरेण्ड ईशुजंग कार्कीले आसन्न ईस्टर संयुक्तरुपमा मनाउँने कुराले हामी इसाईहरु एक छौ भन्ने संदेश दिएको बताउनु भयो । उहाँले चर्चहरु संयुक्तरुपमा मिलेर ईस्टर महोत्सव मनाउँने निर्णय भएसँगै नेपाली इसाईहरु एक छौ भन्ने संदेश गएकोमा आफू निकै खुशी भएको प्रतिक्रिया दिनुभयो । यस्ता कार्यक्रमले नेपाली मण्डलीहरुलाई एकतामा रहन ठूलो सहयोग पुग्ने कुरामा आफू विश्वस्त रहेको कुरा रेभरेण्ड कार्कीले तुरहीलाई बताउनु भएको छ ।
होशन्ना चर्चका पास्टर राजु सुन्दासले ईस्टर सामूहिकरुपमा मनाउँने निर्णयले नेपाली इसाई जगतको एकताको लागि सकारात्मक संदेश दिएको विश्लेषण गर्नुभयो । उहाँले यसले नेपाली इसाई अगुवाहरु परिपक्व भएको संकेत गर्दै यो कार्यक्रमले समग्र नेपाली मण्डलीहरुलाई भलाई गर्ने कुरामा आफू विश्वस्त भएको बताउँनु भयो । पास्टर सुन्दासले हामी इसाईहरु अनन्तको दृष्टिकोणमा जीउनु पर्छ भन्दै सुझाउनु भयो ।
 
ईस्टर महोत्सव काटमाडौं नेपाल आयोजक समितिका संयोजक पास्टर पदमनाथ पराजुलीले आसन्न ईस्टर महोत्सवमा राजधानीका सम्पूर्ण चर्चहरु सहभागी हुन आव्हान गर्नुभएको छ । नेपाली भित्ते पात्रो अनुसार यस वर्ष ईस्टर महोत्सव चैत १८ गते आइतबार परेको छ । आयोजक समितिले गत वर्ष झैं यस वर्षपनि रत्नपार्कस्थित खुल्लामंचमा यस वर्षको ईस्टर महोत्सव भव्यताकासाथ मनाउँने छ ।
फाइल तस्बिर
७ सदस्यीय समायोजन समितिमा को–को थिए ?
रेभरेण्ड सिमोन पाण्डे, रेभरेण्ड प्रकाश सुब्बा, रेभरेण्ड ईशुजंग कार्की, पास्टर पदम पराजुली, एल्डर शेर एसी, पास्टर राजेन्द्र मल्ल र पास्टर सागर बैंजु ।