काठमाडौंमा 'ख्रीष्टियन मिडिया समिट-२०१८' सम्पन्न

turahi-news

तुरही न्यूज । फागुन ०७४ । राजधानी लगायत देशभरका केही ख्रीष्टियान मिडिया र अमेरिकाको ख्रीष्टियन प्लेटफोर्मको संयुक्त आयोजनामा यही मंगलबार राजधानीमा वृहतरुपमा ख्रीष्टियन मिडिया समिट २०१८ सम्पन्न भएको छ । उक्त समिटले राजधानीलगायत देशका केही प्रदेशबाटका विभिन्न खीष्टियन मिडिया होमबाटका सत्तरी वढि प्रतिनिधि र प्रमुखहरुको छलफलले पाँच वुँदे ख्रीष्टियन मिडिया समिट २०१८ काठमाडौं घोषणा जारी गरेको छ ।
 
देश तथा विदेशका भएका नेपालीभाषी मिडियाहरुलाई समेटी सुव्यवस्थित र एकीकृत गर्नको लागि मिडिया भेलामा सहभागी भएका विभिन्न मिडियाकर्मीहरुको सामूहिक छलफलपछि पाँच बुँदे घोषणा (निर्णय) जारी गरिएको हो । कार्यक्रममा अमेरिकास्थीत ख्रीष्टियन प्लेटफोर्मका अध्यक्ष तथा संस्थापक अब्राहाम दियालीले मिडिया समिट आयोजना हुनुको उद्देश्य वारेमा प्रकाश पार्नुभयो भने वचन पत्रिकाका प्रधान सम्पादक तथा संस्थापक विश्वास थापाले सामूहिक छलफललाई अगुवाइ गर्नुभयो भने तुरही पत्रिकाका प्रमुख संवाददाता सुनिलराज लामाले आमन्त्रितहरुलाई स्वागत गर्नुभयो । त्यसैगरि यूवा दर्शन पत्रिकाका प्रमुख तथा प्रधान सम्पादक दिनेश श्रेष्ठले कार्यक्रममा सहभागी सवैलाई धन्यवाद दिनुभयो । 
 
विभिन्न पाँच वटा बुँदामा सामूहिक छलफलबाट आएको निर्णय माइन्यूट पत्रकार भुवन देवकोटाले वाचन गरेर सुनाउनुभयो ।
मिडिया समिटमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सी.वि.गहतराज, नेसनल चर्चेज फेलोसिफ अफ नेपालका अध्यक्ष रेभरेण्ड हनोक तामाङ, नेपाल ख्रीष्टियन समाजका अध्यक्ष पास्टर वर्णवास श्रेष्ठ, आमूल परिवर्तन मसिहा पार्टीका अध्यक्ष भरत गिरी र सामाजिक अभियन्ता राजेन्द्र पौडेलले मिडिया समिटलाई सम्वोधन गर्नु भएको थियो । उहाँहरुले त्यसक्रममा मिडिया समिट सफल भएको भन्दै मिडियाका साथीहरुलाई वधाई तथा शुभकामना दिनुभएको थियो । 
 
रेभरेण्ड पास्टर चन्द्रमान नेपालीले समिटको शुरुको प्रार्थना गर्नुभयो भने रेभरेण्ड शमूएल सोदेम्बाले अन्तिम आशिष्को प्रार्थना गर्नु भएको थियो । सामाजिक अभियन्ता तथा पत्रकार थिर के.सी.ले वचनबाट उत्साहा दिनुभयो । समिटमा देशभरबाट ७० भन्दा वढि संचारकर्मीहरुको सहभागीता रहेको थियो ।