गृह मन्त्रीको अभिव्यक्तिप्रति ख्रीष्टियन समुदायको ध्यानाकर्षण

turahi-news

तुरही, २२ चैत २०७४ । गृह मन्त्री रामबहादुर थापाले नेपाली ख्रीष्टियन समुदायलाई लक्षित गर्दै पछिल्लो समय सार्वजनिक गर्नु भएको अभिव्यक्तिलाई लिएर नेपाली ख्रीष्टियन समुदायकोतर्फबाट ध्यानाकर्षण सार्वजनिक भएको छ । 
 
यही वुधबार नक्खुस्थित एक रेष्टुरेण्टमा नेपाली ख्रीष्टियन समुदायका केही लिडिङ संस्थाहरु राष्ट्रिय ख्रीष्टियन महासंघ नेपाल, एनसिएफ नेपाल, नेपाल ख्रीष्टिय समाज र नेपाल क्याथोलिक समाजका पदाधीकारीहरु बीच गृह मन्त्रीको अभिव्यक्तिलाई लिएर भएको लामो समयको छलफल र वहस पछि यसरि  नेपाली इसाई समुदायको संयुक्त प्रेस विज्ञप्ती आएको हो ।
उक्त छलफलले गृह मन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर प्रेस विज्ञप्तीमार्फत आफ्नो समुदायको गम्भीर ध्यानाकषर्ण गरेको छ । विज्ञप्तीमा गृह मन्त्रीको अभिव्यक्तिमा आपत्ति जनाउँदै ख्रीष्टियन समुदायले नेपालका कुनै पनि ख्रीष्टियनहरुको मठमन्दिरलाई भत्काएर चर्चहरु वनाउने मनसाय नभएको भन्दै गृह मन्त्रीको अभिव्यक्तिप्रति खेद प्रकट गरेको छ । 
राष्ट्रय ख्रीष्टियन महासंघ नेपालका अध्यक्ष सि.वि.गहतराजले तुरहीसँग गृह मन्त्रीले इसाई समुदायलाई लगाउनु भएको आरोप तथ्यहीन र आधारहीन भएको दावि गर्नु भएको छ । उहाँले नेपाली ख्रीष्टियनहरुले कल्पना समेत नगरको कुरा गृह मन्त्रीले भनिदिनु भएकोमा आफूलाई निकै दुख लागेको बताउनु भयो । उहाँले नेपाली ख्रीष्टियनहरु मठमन्दिर भत्काउने योजना त सपनामा पनि चिताउँन नसक्ने दावी गर्नु भयो ।
 
सो छलफलमा क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर डा.मंगलमान महर्जन, एल्डर शेर ए.सी., एजम्पसन चर्चका फादर सिलास बोगटी, महासंघका अध्यक्ष सी.वी. गहतराज, सह–अध्यक्षहरु रेभ. काजीरत्न मर्हजन, रेभ. शामूएल सोदेम्बा, महासचिव पा.पदमनाथ पराजुली, उपमहासचिव तथा प्रवक्ता पा. सागर बैजु, उपमहासचिव पास्टर चन्द्रमान नेपाली, सचिव तथा व्यवस्थापन विभाग प्रमुख पास्टर उद्धव चिमोरिया र पत्रकारहरु लगायतका विशिष्ठ व्यक्तिहरु उपस्थिती रहेको थियो । 
 
छलफलमा विगत केही समयदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालहरुमा सम्पूर्ण ख्रीष्टियन समुदायको नाम जोडेर, केही भ्रामक तथा तथ्यहीन समाचारहरु प्रचार गरिएकोमा ख्रीष्टियन समुदायको गम्भिर ध्यानाकर्षण भएको भनिएको छ । 
 
उहाँले नेपाली ख्रीष्टियन समुदाय शान्ति, सद्भाव र मेलमिलापलाई उच्च सम्मान गर्दै, देशको निम्ति निरन्तर प्रार्थना गर्ने समुदाय भएकोले यस सम्वन्धमा सार्वजनिक भएका कुनै पनि समाचारहरु सत्य नभएको स्पष्ट गराउँन र सम्माननीय प्रधानमन्त्री के.पि.शर्मा ओली र माननीय गृहमन्त्रीको नेपाली ख्रीष्टियन समुदायसँगको प्रसङ्ग जोडिएको उक्त अभिव्यक्ति नेपाली ख्रीष्टियन समुदायको हितमा नभएको बताउनु भएको छ ।