'सरकार ध्वस्त गराइएका चर्च भवनको क्षती पुर्तीको व्यवस्था गर'– एनसीएस र एनसीएफ नेपाल

turahi-news

तुरही न्यूज । काठमाडौं । ३१ वैशाख । पछिल्लो समय श्रृखलाबद्धरुपमा देशका विभिन्न स्थानमा रहेका चर्चमा भएका आगजनी र बम विस्फोटनमा संलग्न अपराधीहरुलाई कानुनको दायरामा ल्याई आवश्यक कारवाही गर्न नेपाल ख्र्रीष्टिय समाज र नेपाल राष्ट्रिय मण्डली संगतिले नेपाल सरकारलाई आव्हान गरेको छ ।
आज सोमबार (३१वैशाख) गते नेपाल ख्र्रीष्टिय समाज (एनसीएस) र नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ) संयुक्त पे्रस विज्ञप्ती सार्वजनिक गर्दै नेपाल सरकारको ध्यानाकषर्ण गरेको छ । विज्ञप्तीमा दुवै संस्थाका अध्यक्षहरुको हस्ताक्षर रहेको छ । 
विज्ञप्तीमा पछिल्लो समय देशमा विभिन्न स्थानमा रहेका चर्च भवनमा श्रृखलाबद्धरुपमा अज्ञात समूहद्धारा आगजनी र बम विस्फोट भइरहँदा पनि नेपाल सरकार मुकदर्शक भएर हेरिरहेको र दोषीलाई अहिलेसम्म पनि कारवाही नगरेको भन्दै नेपाल सरकारको आलोचना गरिएको छ । 
 
एनसीएस नेपालका अध्यक्ष कृष्णबहादुर श्रेष्ठ र एनसीएफ नेपालका अध्यक्ष सूर्यबहादुर बल तामाङको संयुक्त हस्ताक्षरित विज्ञप्तीमा चर्च भवन आगजनी र बम विस्फोटमा संलग्न अपराधीहरुलाई नेपाल सरकार गृह मन्त्रालयले अहिलेसम्म पनि खोजी गर्न नसक्नु र नेपाली ख्रीष्टियन समुदायप्रतिको वेवास्ता भएको भन्दै नेपाल सरकार आफै पनि चर्चमा भएका अपराधिक क्रियाकलापमा नेपाल सरकार आफै पनि साथ दिइरहेको भन्ने आरोप लगाइएको छ ।