प्रा.डा.राजेन्द्रकुमार रोगोंगको आज अन्त्येष्टि

turahi-news

तुरही न्यूज । ०४ जेठ, काठमाडौं । शिक्षाविद तथा नेपाली इसाई मण्डली धोविघाटका पास्टर प्राध्यापक डा.राजेन्द्र कुमार रोगोंगको पार्थिव शरीरमा आज शुक्रबार अन्तिम श्रद्धाञ्जलि अपर्ण गरिएपछि आजै उहाँको पार्थिव शरीरलाई धापासीमा अन्त्येष्टि गरिएको छ । 
 
आज अपराह्न १ बजे शुक्रबार (०४ जेठ) राजधानीको ज्ञानेश्वरस्थित नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चमा आयोजित श्रद्धाञ्जलि सभामा डा.रोगोंगको पार्थिव शरीरमा स्वर्गीय डा.रोगोंगका परिवारजन, आफन्त, ईस्टमित्र, स्काउटका पदाधीकारी, शुभचिन्तक लगायत विभिन्न चर्चका पास्टरअगुवाहरुले श्रद्धाञ्जलि अपर्ण गरेपछि अपराह्न ५ बजे धापासीमा ख्रीष्टियन विधि अनुसार अन्तिम संस्कार गरियो ।
 
नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्चले आयोजना गरेको श्रद्धाञ्जलि सभामा रेभ.पास्टर रोबर्ट कार्थकले वचन वाँड्नु भयो । उहाँले त्यसक्रममा मानिसको मृत्यु दई पटक हुन्छ तर ख्रीष्टलाई विश्वास गर्नेहरुको मृत्यु कहिल्यै हुँदैन भन्नुभयो । त्यसैले डा.रोगोंगको मृत्यु नभएको दावी गर्नु भयो । श्रद्धाञ्जलि सभामा सोही मण्डलीका पास्टरहरुले स्वर्गीय डा.राजेन्द्रकुमार रोगोंगको जीवनी वारेमा प्रकाश पार्नु भयो ।
 
प्रा.डा.रोगोंगको ८८ वर्षको उमेरमा यही जेठ २ गते वुधबार विहान ५३० बजे उपचारकाक्रममा पाटन अस्पतालमा प्रभुमा विश्राम लिनुभएको थियो । 
उहाँको जन्म बुवा आथिङ जोशेफ  रोगोंग र आमा सूर्यमती रोगोंगको दोस्रो सन्तानकोरुपमा वि.सं.१९८७ साल बैशाख १२ गते (सन् १९३०, अप्रिल २४) कालिङपोङमा भएको थियो । उहाँका एक छोरा र दुई छोरीहरु छन् । श्रीमती सन् २००६ मा प्रभुमा उठाइनु भएको थियो । 
 
काठमाडौंस्थित नेपाली इसाई मण्डली ज्ञानेश्वर चर्च स्थापना गर्नमा डा. रोगोंगको उल्लेख्य योगदान छ । उहाँले त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रको डिन भएर लामो समय सेवा गर्नु भयो भने काठमाडौं शिक्षा क्याम्पसको क्याम्पस चिफ भएर पनि सेवा गर्नु भयो । त्यसैगरि उहाँ अंग्रेजी साहित्य विषयमा स्नातक उत्तिर्ण गर्ने उहाँ नेपालको पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँले अमेरिकाबाट पाठ्यक्रम विषयमा विद्यावारिधी गर्नु भएको थियो । नेपाल स्काउटको फस्ट कमिसनर, महेन्द्र पुलिस स्कूलको संस्थापक प्रिन्सिपल, ल्याबरटोरी स्कूलको पनि संस्थापक प्रिन्सिपल भएर शिक्षाको क्षेत्रमा लामो समयसम्म योगदान गर्नु भएको थियो ।