विश्व आत्महत्या रोकथाम दिवस


काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रूपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा ६ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । 


आत्महत्याको पछाडि ९५ प्रतिशत मानसिक रोग जिम्मेवार हुने गरेको छ । विश्वमा १५ वर्षदेखि २९ वर्षका मानिसहरुको मृत्युको दोस्रो कारण आत्महत्या हुने गरेको तथ्याङ्कहरु सार्वजनिक भइरहेका छन् । प्राणघातक रोग एचआईभी एड्स, क्यान्सर, मलेरिया, स्तन क्यान्सर र आपराधिक घट्नाबाट भन्दा पनि आत्महत्याबाट धेरै मानिसले ज्यान गुमाइरहेका छन् । यसवर्षको आत्महत्या रोकथाम दिवसको नारा ‘कार्यमार्फत आशा जगाऊँ’ रहेको छ ।  


विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा मानसिक एवं मनोसामाजिक सु–स्वास्थ्य अभियानको आयोजना र रिपोर्टर्स क्लब नेपालको सहकार्यमा क्लबको साक्षात्कार कक्षमा ‘आत्महत्या रोकथाममा मिडिया र सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 


अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पछिल्लो समय नेपालमा आत्महत्याको विषय अलिक विकराल बन्दै गएको बताए । आफ्नो ३० वर्षे पत्रकारिताको अनुभव सुनाउँदै उनले आत्महत्या मान्छेको बाध्यता बन्ने गरेको भन्दै त्यस्तो अवस्था आउन नदिनुपर्नेमा जोड दिए । साथै, आत्महत्याका केही घटनाहरु आवेगका कारण पनि हुने गरेको उनको भनाई छ । 


उनले तनाव, द्वन्द्व, विभेद, अन्याय, अत्याचार र शोषणका कारण आत्महत्या बाध्यता बनेको बताए । आत्महत्या न्युनीकरण र रोकथामको लागि नेपालका सञ्चारमाध्यमहरुले प्रभावकारी भूमिका निर्वाह गर्नपर्ने धमलाको भनाई छ ।  


पछिल्लो समय विदेशमा रहेका धेरै नेपालीहरुले पनि आत्महत्या गर्ने गरेको उनले बताए । समाजमा विभिन्न कारणले आत्महत्याको अवस्था आएको भन्दै धमलाले अब आफ्नो पत्रकारिताको मिसन आत्महत्या रोकथाम हुने बताए । 


‘समाजमा आत्महत्याले ठूलो पीडा दिएको छ । अब मेरो एजेण्डाको पनि मुख्य एजेण्डा, कन्टेनको पनि मुख्य कन्टेन भनेको आत्महत्या रोकथामका लागि नेपाली मिडियाले खेल्नसक्ने भूमिकाको बारेमा म वहस गर्न तयार छु,’– उनले भने । समाजमा आत्महत्या रोकथामका लागि राज्य, सञ्चार जगत र सरोकारवालाहरु गम्भीर हुन आवश्यक रहेको उनले बताए । समाजमा रहेको विभेद, अन्याय, शोषण, दमनको अन्त्य गराउन सकिएमा आत्महत्या कम गर्न सकिने उनको धारणा छ । 

यस्तै, नेपाल स्वास्थ्य पत्रकार मञ्चका अध्यक्ष एवं गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेलले एक जना मान्छेले आत्महत्या गर्दाको असर एक सय ३५ जना मानिसमा देखिने तथ्याङ्कहरु सार्वजनिक भइरहेको बताए ।


आत्महत्यासम्बन्धी रिपोर्टिङ गर्दा आत्महत्या न्युनीकरणलाई सहयोग हुनेगरि गर्नुपर्ने उनको भनाई छ ।  समाचारमा प्रयोग भएको तस्वीरमा पनि ध्यान पुर्याउन आवश्यक रहेको उनले बताए । आत्महत्याका समाचारको हेडलाईन सनसनीपूर्ण बनाइएको उनको बुझाइ छ । आत्महत्या न्युनीकरणका लागि मिडियाहरुको भूमिका महत्वपूर्ण रहेको उनले बताए । 
आत्महत्यालाई रोक्न र न्युनीकरणका लागि सञ्चार माध्यम, नेपाल प्रहरी र सरकारको महत्वपूर्ण भूमिका रहेको उनले बताए । 


कार्यक्रमका वक्ता डा. विजय मिश्रले सबैभन्दा धेरै आत्महत्या गराउनेको अरोप मिडियालाई लागिरहेको बताए । आफू मिडियाकर्मी पनि भएको बताउँदै उनले पत्रकारहरु पनि आत्महत्याको शिकार भइरहेको बताए । प्रहरीले दिने रिपोर्टमा पत्रकारहरुले अन्धभक्त भएर पत्रकारिता गर्दा पनि आत्महत्या बढेको उनको अरोप छ । 


‘प्रहरीले दिने रिपोर्टमा आफूलाई सजिलो हुनेगरी समाचार बनाइदिन्छ । सहरमुखी अल्छी पत्रकारहरु कसले मेलमा समाचार पठाउँछ र कपी पेष्ट गर्ने कारणले प्रहरीले पत्रकारको काँधमा बन्दुक राखेर अरुलाई गोली हानिरहेको हुन्छ, । मतलब अरुलाई बदनाम गर्नेगरि समाचार लेखिरहेको हुन्छ,’– उनले भने । 


खोटाङमा मदन राईले खोलेको विद्यालयमा आत्महत्या कसरी गर्न गरिन्छ भनेर प्राक्टिकल हुने गरेको उनको दाबी छ । एकपटक प्राक्टिकलमा सहभागी भएको विद्यार्थीले जीवनमा कहिले पनि आत्महत्या नगर्ने उनीहरुको दाबी रहेको डा. मिश्रले बताए । आत्महत्या न्युनीकरणको विषय पाठ्यपुस्तकमा राख्न आवश्यक रहेको उनको भनाई छ । पत्रकारहरुले आत्महत्या र बलात्कारको न्युजलाई प्राथमिकता दिएर समाचार सम्प्रेसन गर्दा पनि यसमा बृद्धि भएको उनको दाबी छ ।  


आत्महत्या न्युनीकरणका लागि प्रहरी, मिडिया र राजनीतिक व्यक्तित्वहरुले अभियान अगाडि बढाउन आवश्यक रहेको उनले बताए । 
वरिष्ठ मनोचिकित्सक प्रा.डा. पुष्पराज शर्माले आत्महत्या सामाजिक, आर्थिक कारणलेमात्रै नभएर जैविक कारण हुने गरेको बताए । शरीरमा रहेका विभिन्न रशायनहरु तलमाथि भएपछि डिप्रेसन हुने बताउँदै उनले आत्महत्याको प्रमुख कारण यही नै रहेको बताए । 


आर्थिक अवस्थाले मात्रै मान्छेले आत्महत्या नगर्ने बताउँदै आत्महत्यालाई एउटै कुरासँग जोड्न नमिल्ने बताए । आर्थिक रुपमा उन्नत अवस्थामा रहेका जापन, अमेरिका, युरोप लगायतका मुलुकका नागरिकहरुले पनि आत्महत्या गर्ने गरेको बताउँदै उनले आर्थिक समस्या आत्महत्याएको अनेकौं कारणमध्येको एउटा कारण भएको बताए ।


समाजमा भइरहेको परिवर्तनलाई युवा पुस्ताले राम्रोसँग आत्मसात गर्न नसक्दा पनि यदाकदा आत्महत्याको घटना हुने गरेको उनको भनाई छ । आत्महत्याको प्रमुख कारण डिप्रेसन रहेको उनको भनाई छ । उनले डिप्रेसनको उचार सम्भव रहेको बताउँदै उनले आत्महत्या न्युनीकरणका लागि समयमै डिप्रेसनको पहिचान गरी उपचार गर्न आवश्यक रहेको बताए । 


‘रिसर्चका अनुसार आत्महत्याको ७० प्रतिशतभन्दा बढि डिप्रेसनसँग जोडिएको छ । डिप्रेसन एउटा यस्तो मानसिक रोग हो, जसको उपचार गर्न सकिन्छ । डिप्रेसनलाई चाँडै नै पहिचान गरेर यसको उपचार राम्रोसँग गर्नसक्यौं भने धेरै आत्महत्यालाई कम गर्नसक्छौं,’– उनले भने । 


आवेगात्मक आत्महत्या थोरैमात्रामा हुने उनको दाबी छ । आत्महत्या धेरैजसो योजनावद्ध हुने र उक्त योजना घरपरिवार र साथीभाइहरुले पनि पत्ता लगाउन नसक्ने खालका हुने उनको भनाई छ । आत्महत्या न्युनीकरणका लागि मानसिक स्वास्थ्यमा संवेदनशील हुन आवश्यक रहेको उनले बताए । 


मानसिक स्वास्थ्यको पहुँच ग्रामीण क्षेत्रमा पनि पुर्याउन उनले नेपाल सरकार समक्ष आग्रह गरे । नेपालमा बालबालिकामा पनि आत्महत्याको दर बढेको भन्दै चिन्ता व्यक्त गरे । आत्महत्यालाई धेरै हदसम्म न्युनीकरण गर्न सकिने उनको भनाई छ । 


नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले माग र पूर्तिबीचको ग्यापले पनि मान्छेलाई आत्महत्याको बाटोमा डोहोर्याएको बताए । ‘सम्पन्नताले मात्रै सबै कुरा समाधान हुँदो रहेनछ । मान्छेले धेरै ठूलो मागको अपेक्षा गर्यो, पूर्ति थोरै भयो र बीचमा ग्याप धेरै भयो भने मान्छे फ्रस्टेसनमा जान्छ । जुन अपेक्षा थियो त्यो नपाएपछि विस्तारै आत्महत्या गर्ने अवस्थामा पुग्छ,’– उनले भने । 


विश्वव्यापी रुपमा द्रूत गतिमा फैलिएको सामाजिक सञ्जालले पनि मोटिभेसन फैलाउन नसकेको उनको दाबी छ । टोलटोलमा, गाउँगाउँमा मानिसहरुलाई मोटिभेसन गर्ने पद्धतीको विकास गरेर आत्महत्याबाट निरुत्साही गराउने बाटामो लाग्नुपर्ने उनले बताए । सरकारी तह र गैरसरकारी तहबाट पनि यसमा विशेष महत्वका साथ हेर्न आवश्यक रहेको बताए । 
देशमा सुशासनको अवस्था एकदमै दयनीय रहेको उनको भनाई छ । अहिले बनेको सरकारबाट मानिसहरुले धेरै अपेक्षा गरेपनि आफूहरुले त्यसलाई पूरा गर्न नसकेको उनको स्वीकारोक्ति थियो । राजनीतिक दलहरु झगडामात्रै गरेर बसेको उनको टिप्पणी थियो । 


सरकारले जनतालाई डेलिभरी दिन नसक्दा निराशा उत्पन्न भएको उनको दाबी छ । अहिलेको परिवर्तन निराशाका लागिमात्रै नभएको उनले बताए । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको अभिव्यक्तितर्फ लक्षित गर्दै उनले आगो लगाउने कुरा गरेर र मान्छेलाई उत्तेजितमात्रै बनाएर समस्याको समाधान नहुने बताए । संयमित भएर धैर्यतापूर्वक मुलुकको अवस्थाअनुसार देश र जनतालाई सम्बोधन गर्न सकेको खण्डमा आत्महत्या निरुत्साहित बनाउने वातावरण सिर्जना हुने उनको भनाई थियो । 


प्रतिनिधि सभाको कार्यव्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका खतिवडाले दलहरुले बहुदलीय व्यवस्था, गणतन्त्र, संविधानसभाबाट संविधान निर्माण र संविधान कार्यान्वयनबाट पनि राजनीतिक स्थिरता र जनताको मनोकांक्षाअनुसार काम गर्न नसकेको पनि बताए । 


नेपाल सरकार, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. फनिन्द्रप्रसाद बरालले आत्महत्यको ९० प्रतिशत कारण व्यक्तिको मानसिक स्वास्थ्य रहेको बताए । मानसिक रुपमा अस्वस्थ रहेकोमा पनि डिप्रेसन आत्महत्याको प्रमुख कारण रहेको उनले बताए । 


नेपाल सरकारले विगत पाँच वर्षदेखि सरकारको संरचनामा रहेको स्वास्थ्य संस्था र जनशक्तिमार्फत उनीहरुलाई मानसिक स्वास्थ्यसम्बन्धी तालिम दिएर आम जनतामा मानसिक स्वास्थ्यसम्बन्धी पहुँच पुर्याउने काम गरिरहेको बताए । सरकारले निःशुल्क वितरण गर्ने औषधीहरुमा मानसिक स्वास्थ्यको उचारमा प्रयोग गरिने औषधीलाई पनि समावेश गरेको उनले बताए । समाजमा मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएमात्रै आत्महत्याको दर कम गराउन सकिने उनले बताए । 


नेपाल प्रहरीका पूर्व एसएसपी वशन्त कुँवरले आत्महत्या रोक्नका लागि मन्त्रालयस्तरमै आत्महत्या नियन्त्रण शाखा बन्न आवश्यक रहेको बताए । देशभरका सात सय ५३ वटै स्थानीय सरकारमा हेल्पलाईन  खोल्न आवश्यक रहेको उनले बताए । उनले स्थानीय सरकार आत्महत्या रोकथामको शाखा बन्न आवश्यक रहेको बताए । 


कार्यक्रममा वे टू ह्याप्पीनेस फाउन्डेसनका नेपाल प्रमुख अभयजंग कुँवर, मनोरोग उपचार तथा पुनर्स्थापना केन्द्रकी राजेश्वरी प्रधान लगायतको उपस्थिति रहेको थियो । 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस