युवा सेवकाईका चुनौतीहरु

turahi-news

 
”आफ्नो युवा अवस्थामा आफ्ना सृष्टिकर्ताको सम्झना गर“
उपदेशक १२ः१
युवा सेवकाई
सामान्य अर्थमा व्यक्तिलाई उमेरका आधारमा गरिने पहिचान अनुरूप बाल्यावस्था पार गरिसकेका र प्रौढावस्थामा पुगिनसकेका समूहका व्यक्तिलाई युवा भनिन्छ । विश्वको जनसंख्याको तथ्याङ्कलाई हेर्ने हो भने कुल जनसंख्याको एक चौथाई भन्दा बढी भाग युवाहरूले ओगटेको पाउँदछौं । संयुक्त राष्ट्रसंघले १९ वर्षदेखि २५ वर्षसम्मकालाई मात्र युवा मान्दछ तर नेपालमा भने १८ वर्षदेखि लगभग ४० वर्षसम्मकालाई युवा मान्ने चलन छ । यही तथ्याङ्कलाई नै आधार मानेर हेर्ने हो भने विश्वको जनसंख्याको आधाभन्दा बढी जनसंख्या २५ वर्ष मुनिकाहरूको छ । प्रत्येक वर्ष लगभग ३ करोड मानिसहरू युवा उमेरमा प्रवेश गर्ने गर्दछन् । नेपालको सन्दर्भमा हेर्ने हो भने पनि झण्डै एक तिहाइ जनसंख्या युवा उमेरका नवजवानहरूले भरिएको पाउन सकिन्छ ।
 
युवा त्यो उमेर समूह हो, जसमा राष्ट्रको भविष्यका कर्णाधार वर्तमानका साझेदार तथा विकास र परिवर्तनका संवाहकको सामथ्र्य रहेको हुन्छ । युवा जसलाई देशकै मेरुदण्दको रुपमा पनि लिइन्छ । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक रूपान्तरणमा युवा वर्गको भूमिका महत्वपूर्ण रहेको छ । युवा शक्ति विकासका लागि आवश्यक ऊर्जाका स्रोत हुन् ।
यी नै युवाहरु मण्डलीका लागि पनि उत्तिकै आवश्यक र महत्वपुर्ण स्रोत हुन् ।ख्रीष्टियनजीवनको महत्वपुर्ण सेवकाईको क्षेत्र मध्य युवा सेवकाईहो । जुन प्रत्यक्ष रुपमा मण्डलीमा रहेका युवाहरुसँग सरोकार राख्ने गर्दछ । मण्डलीका युवाहरुलाई एकत्रित गरि आत्मिक क्षेत्रमा अघि बढाउन एकले अर्कालाई प्रेरित गर्नु यसको काम हो । 
युवामा भएको जोश जाँगरलाई मण्डलीको सेवकाईमा भरपुर रुपमा प्रयोग गर्न सक्नुपर्छ नत्र भने त्यो जोश र जाँगर अन्य काममा नै प्रयोग हुन सक्छ । मण्डलीका भएका विभिन्न उमेर समुहका युवाहरुलाई समय सापेक्ष अनुसार उनीहरुको आत्मिकी बृद्धिका लागि युवा सेवकाईमहत्वपुर्ण आधार हो। प्रायः मण्डलीका पाष्टर अगुवाजनहरुसँग आफ्ना कुराहरु राख्न, बोल्नदेखी युवाहरु अप्ठेरो मान्ने, डराउने हुन्छन् ।अधिकाँश मण्डलीका पाष्टर अगुवाहरु अलि पाको उमेरका हुन्छन्, उहाँहरु जुन वातावरणमा हुर्कनुभयो, त्यही वातावरणमा अहिलेका मण्डलीका युवाहरुलाई हुर्काउने प्रयास भईरहेको हुन्छ । जहाँ अहिलेका युवाहरु हुर्कनगाह्रो हुँदछ । समय परिस्थिती अनुसार उपलब्ध स्रोत र साधन प्रयोग गरी उनीहरुलाई सिकाउनु पर्ने हुन्छ । यदि उनीहरुको इच्छा विपरित पुरानै सोच अनुरुप सिकाउन थालियो भने युवाहरु विस्तारै मण्डली नआउने, अरु मण्डली धाउने गर्दै गर्दा विश्वासबाट समेत पछि हट्ने हुन्छ ।
 
भोलि मण्डली चलाउने भनेको यी नै युवाहरुले नै हो । तसर्थ युवाहरुलाई मण्डलीको सेवाकाईमा लाग्न प्रेरित गर्नुपर्छ । मण्डलीको काम प्रति उनीहरुलाई जिम्मेवार बनाउनु पर्छ । सेवकाईमा अउने वातावरणको सृजना गरिनु पर्दछ । हुनत सेवकाईको काम सजिलो भने पक्केै छैन, धेरै बाधा समस्याहरु आउँछन् । ती कुराहरुसँग कसरी सामना गर्ने, यसका चुनौतीको विषय र सेवकाई पश्चात परमेश्वरबाट पाईने इनामबारे समेत ती युवाहरुलाई बुझाउनु जरुरी छ । 
जवानहरुको विषयमा बाइबले भन्दछ, “जवान छौ भन्दैमा कसैले तिमीलाई तुच्छ नठानोस्, तर विश्वासीहरुका अगि बोलीवचन, आचारण र प्रेममा, विश्वासमा र शुद्धतामा तिमी एक उदाहरण बन ।” (१ तिमोथी ४ः१२) ।
 
युवा सेवकाईका चुनौतीहरुः
सेवाकाई आफैमा एउटा चुनौतीको विषय हो । सेवकाईमा लाग्दै गर्दा धेरै कुरा गुमाउनु पर्ने अवस्था आउँछ । त्यो समयमा आफु विचलित नभई जुन कामको लागि आफ्ना पाईलाहरु अघि बढाईएका छन् त्यसमा आफु टटस्थ रहनसक्नु पर्छ । सेवकाईमा लाग्ने व्यक्ति अरुको लागि उदाहरण हो । जसको जिवनलाई हेरेर अरु आशिषित हुने जिवनको सृजना गर्नुपर्छ न की अरुलाई निराश तुल्याउने । सेवकाईमा लाग्दै गर्दा आफ्ना बोलि बचन, व्यवहार, काम हरेक कुरामा संयमता अपनाउनु पर्ने हुन्छ, धैर्यवान् हुनुपर्छ । निराश ल्याउने कुराको प्रवाह नगरी ती कुरामाथि जब विजयी भइन्छ, आफुुसँगै अरुको लागि पनि एउटा आशिषको कुरा बन्न सक्छ । त्यसैले सेवकाईमा लाग्दै गर्दाधेरै अप्ठेरो परिस्थितिको सामना गर्नुपर्ने हुन्छ । हरेक सहज असहज परिस्थिमा आफु त्यसबाट विचलित नभई आफ्नो सेवकाईको क्षेत्रलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनु ठुलो चुनौतीको कुरा छ ।
अझ युवा सेवकाई झन् ठुलो चुनौतीको विषय छ । अब हामी युवा सेवकाईका चुनौतीलाई बुदाँगत रुपमा हेर्नेछौ ः–
 
१) युवा सेवकाईमा आउन चाहने युवाको नै कमी हुनु
आजभोलिका युवाहरु सेवकाईमा आउन चाहने अत्यन्तै कम नै छन् । हरेकलाई आफ्नो पढाईसँगै, भविष्य उज्वल बनाउने काममै उनीहरु व्यस्त छन् । कोही उच्च शिक्षा हासिल गर्न त कोही धेरै पैसा कमाउने सोचले अधिंकाँश युवाहरु शहर केन्द्रित भइरहेका छन् त कोहीयुवाहरु विदेशीएका छन् ।जसबाट मण्डलीका युवाहरु पनि अछुतो रहन सकेको छैन ।यो आफैमा नराम्रो भन्न खोजिएको होइन, आफ्नो भविष्यको फिक्री हर व्यक्तिलाई हुँदछ । बिलासी जिवन विताउन जो कोही पनि चाहन्छ । कोही पनि आफ्नो जीवन अभावमा विताउन चाहँदैनतर समयले युवाहरुलाई यस्तो व्यस्त बनाईदियो की शनिवार २ घण्टा आरधनाको समय पनि मण्डली आउन उनीहरुलाई व्यस्त बनाईरहेकोे अवस्था छ, आइहाले पनि संगती सकिने बित्तिकै जयमसिह नै भन्न नपाई, भेटघाट गर्न नपाई त्यहाँबाट गइसकेको हुन्छ ।यस्तो अवस्थामा झन् सेवाकाईमा आउन चाहने युवाको त कुरै भएन । त्यसैले युवा सेवकाईमा आउन चाहने युवाको नै कमी हुनु नैमुख्य ठुलो चुनौतीको विषय छ ।
 
 
२)असल अगुवाको छनौट गर्न नसक्नु
युवा सेवकाईको मुख्य व्यक्ति युवा संगतीको अगुवा हो । यदि असल अगुवा छनौट गर्न सकिएन भने युवा सेवकाई प्रभावकारी रुपमा अघि बढ्न सक्दैन । त्यसको असर मण्डलीका अरु युवाहरुमा पनि पर्दछ । अधिकाँश मण्डलीमा पाष्टर अगुवाका छोराछोरीहरु नै युवा संगतीको अगुवाको रुपमा रहेका हुन्छन् । यो राम्रो कुरा हो आफ्नो बाबुआमा मण्डलीको जिम्मेवारी पदमा बसेर काम गर्दा उसका सन्तानले पनि युवा संगतीको नेतृत्व लिनु । उसमा नेतृत्व गर्ने क्षमता छ, उसलाई मन पर्छ भने यो राम्रो भयो तर बाबु आमा नै अगुवा पाष्टर भएको कारणले उसको छोराछोरी नै युवा संगतीको नेतृत्व लिन पाउनु पर्छ भन्ने धारणा भने गलत छ । 
मण्डलीले लामो समयदेखी सेवकाई गरेको, बढी आत्मिकी देखिने यस्ता व्यक्तिलाई सेवकाईको जिम्मेवारी दिन्छ । मण्डलीले युवा सेवकाईमा जिम्मेवारी लिनको लागि युवा प्रति बोध भएको, दर्शन र क्षमता भएको अगुवालाई छनौट गर्न नसक्नु पनि चुनौतिको विषय हो ।
 
३) युवाहरुको चासोका विषयलाई स्थान दिन नसक्नु
युवा संगतीको अगुवाले आफुलाई मात्रै उचित लाग्ने गतिविधीहरु ल्याएर युवा सेवकाई प्रभावकारी हुन सक्दैन । कति पटक उनीहरुले राखेका कुराहरुलाई सिधै नर्कादा, बेवास्ता गरिदा मण्डलीको प्रतिको उनीहरुको सोच नकरात्मक पर्न जान्छ । केवल बाइबलमा मात्र आधारित भएर आत्मिकी शिक्षा दिने तर व्यवहारिक कुराहरु जस्तैः विज्ञान प्रविधी, खेलकुद, मनोरञ्जन, यौन जस्ता कुरालाई बाइबलिय तवरले नसिकाउनु, बाहिरी कुरामा संलग्न हुन नदिनुले युवा सेवकाईका चुनौती थपिएको छन् ।
 
४) सेवकाईको स्वरुपमा परिवर्तन हुन नसक्नु
युवाहरु स्वभावैले या उमेरले नयाँ नयाँ कुराहरुमा चासो राख्ने हुन्छन् । सबैभन्दा बढी सामाजिक संजलको प्रयोग गर्ने, सुचना प्रविधिको क्षेत्रमा आएका नयाँ नयाँ सामग्रीको प्रयोग गर्ने इत्यादी । धेरै पटक यस्ता कुराको प्रयोगमाथि मण्डलीले बन्देज लगाइदिदा युवाहरुको भावानामा ठेस पुग्न जाने हुन्छ । तसर्थ सेवकाईमा रमाउन यसको स्वरुपमा परिवर्तन ल्याउन नखोज्नु पनि चुनौतिको विषयको रुपमा उभिएको छ । मण्डलीमा सधै एकै प्रकारले सेवा गर्नु बाहिरी सेवा तर्फ मण्डलीले ध्यान नदिनु, केवल बाइबलीय प्रचारबाट मात्र शिक्षा दिने प्रणली, नयाँ प्रविधिका सिकाईहरुलाई स्थान दिन नसकी मण्डलीमा पुरानै तरिकाले सेवा गर्नु आजको युवा सेवकाईका चुनौति हुन् ।
 
५) उत्साहको कमि हुनु
कुनै पनि काम गर्दै गर्दा त्यसको प्रतिक्रिया जब आउँछ तब आफ्नो काम राम्रो भए नभएको थाहा हुन्छ, त्यस अनुसार अब कसरी अघि बढ्ने भन्ने हुन्छ । धेरै पटक सेवकाईमा लाग्ने व्यक्तिमा पनि यहि हुन्छ । ऊ आफ्नो क्षमताले भ्याएसम्म आफ्नो तर्फबाट सेवकाईलाई प्रभावकारी बनाउन लागिपरेको हुन्छ तर त्यसप्रति कसैले चासो नदेखाइदिँदा, प्रतिक्रिया नदिँदा सेवकाई गर्ने व्यक्तिमा निराशा छाइरहेको हुन्छ । त्यसैले सेवकाईमा लागेकाहरुलाई उत्साह दिन नसक्नु अर्को महत्वपुर्ण चुनौति छ ।
 
६) सेवकाई प्रतिको बुझाईमा गलत धारणा
धेरैको मनमा सेवकाई भनेको आफ्नो सबै काम छोडेर पुर्ण रुपमा सेवकाईको काममा लाग्नु भन्ने बुझाई छ । त्यो गर्न सक्यो भने त झनै राम्रो । मण्डलीका अगुवा पाष्टरबाट कति पटक यस्ता कुरा आउँछन् की आफ्नो भएको काम छोडेर अब सेवकाईमा लाग्नु पर्छ । । तर हामी जहाँ छौ, हामीसँग जे क्षमता छ त्यसबाट पनि हामी सेवकाई गर्न सक्छौ, यसैले सेवाकाईको धारणा प्रति पनि युवाहरुको बुझाई गलत हुने भएकोले यो पनि चुनौतिको बिषय बनेको छ । 
 
७) ख्रीष्टियन जीवन र संसारिक जीवनलाई सन्तुलनमा राख्न नसक्नु
सेवकाईमा लाग्दै गर्दा कति समयमा संसारिक जीवन ओझेलमा पर्छ । संसारमा छदाँ हामीले निभाउनु पर्ने कर्तव्य, जिम्मेवारीलाई समेत विर्सिएको हुन्छ । हामीले येशु ख्रिष्टलाई पछ्यायौ अब संसारको काममा लाग्नु हुदैन भन्ने गलत मानसिकताको समेत विकास भइरहेको हुन्छ । तसर्थ मण्डलीमा गरिने सेवकाई हाम्रो सांसारिक जिवनमा पनि गर्नुपर्ने हुन्छ । जब हामी संसारका मानिसको सेवामा लाग्छौ झन् हाम्रो विश्वास र काम उनीहरुको माझमा प्रकट हुन्छ । जसले गर्दा उनीहरुले येशु ख्रिष्टलाई विश्वास गर्ने मौका मिल्छ । त्यसैले सेवकाईको दौरानमा ख्रिष्टियन जीवनसँगै सांसारिक जिवनलाई पनि सन्तुलनमा लानु चुनैतिको विषयको रुपमा रहेको छ । 
 
८) पुस्तान्तरण
मण्डलीमा होस् या मण्डली बाहिर युवा सेवकाईको निम्ती पुस्तान्तरण एउटा चुनौतीको विषय हो । अघिल्लो पुस्ताले आफुले जे सिक्यो, जस्तो ग¥यो यो पुस्ताले पनि त्यस्तै गर्नुपर्छ भन्ने विचारले मण्डलीका युवाहरुलाई अगाडि बढ्नबाट रोकीरहेको हुन्छ । अहिलेको समयमा युवाहरुलाई पुरानै विचारमा, रहनसहनमा, लवाईखवाईमा ढाल्न खोज्नु, नयाँ विचारको सुनुवाई नगर्नु, युवालाई नबुझिदिनु यी सबै समस्या दुई पुस्ता विचको फरकपनाले हुन्छ । मण्डलीमा दुई पुस्ता विचको फरक विचार, एक अर्काको विचार नबुझ्नु चुनौतीको विषय हो ।
 
९) युवा प्रति मण्डलीको धारणा
युवालाई काँचो माटो र भविष्यको कर्णधारको रुपमा हेर्नु यो आफैमा गलत विचार हो । जबकी युवा त मण्डलीको बलियो खाँबो र मण्डलीको आज हुन् । मण्डलीमा युवाहरुलाईविश्वास नगर्नु, जिम्मेवारी दिन हिचकिचाउनु यी कुराहरुले गर्दा पनि युवाहरुलाई सेवको क्षेत्रमा, प्रभुमा, जिम्मेवारीका क्षेत्रहरुमा अगाडि बढ्नबाट रोकीरहेको हुन्छ ।पाको व्यक्तिहरु नै सेवकाईमा लागिरहने, युवाहरुलाई अवसर नदिने युवा सेवकाईको चुनौतिको विषय हो ।
 
१०) आर्थिक सहायता नहुनु
सेवकाईमा लाग्ने व्यक्तिलाई प्रार्थना, उत्साहको साथसाथै आर्थिक सहायताको पनि खाँचो पर्छ । जुन कुरा कतिपय मण्डलीले बुझिरहेका हुदैनन् । जसले गर्दा सेवकाईमा आउन चाहने व्यक्तिलाई आउने इच्छा हुँदा हुदैँ पनि ऊ आउन सकिरहेको हुदैन । त्यसैले आर्थिक कुराको सहायता नहुनु पनि सेवकाईको चुनौतीको विषय छ ।
 
अन्तमा,
युवा आफैमा एक चुनौतीपुर्ण विषय हो भने युवा मण्डली, समाज, देशको निम्ति पनि एक चुनौतीको क्षेत्र हो । हाल विश्वको आधा आधी जनसंख्या ढाकेको युवाले धेरै चुनौतीको समाना गर्नु परीरहेको छ । युवा उमेरमा हुने विविध जिज्ञासा, चासो, इच्छा, विचारका कारण युवाहरुले समस्या भोगिरहेका हुन्छन र यसको प्रभाव मण्डली, समाजमा पनि परिरहेको हुन्छ । लागु औषधिको दुव्र्यसनी, चोरी डकैती, यौन दुव्र्यसनी, बेरोजगारी आदि समस्यामा युवाहरु हरेक दिन फसिरहेका छन् । यस्तो अवस्थामा रहेका युवाहरुलाई मण्डलीले सेवकाईको क्षेत्रको रुपमा लिनु र विस्तार गर्नु मण्डलीको जिम्मेवारी हो । जवानहरुलाई प्रभुमा ल्याउनु मात्र नभई आत्मिकी क्षेत्रमा डो¥याउनु, गलत मार्गबाट विस्तारै छुडाई असल मार्गमा डो¥याउनु युवा सेवकाईको निम्ती चुनौती छ ।
नेपालमा शिक्षाको अभाव, स्वकेन्द्रित विचार, परम्परावादि सोचाई, सम्भाव्यताको कमी, नयाँ प्रविधि प्रति गलत धारणा र त्यसको दुरुपयोग जस्ता कुराले अझै युवा सेवकाईलाई चुनौती दिएको छ । युवाहरुलाई असल मार्ग दर्शन गर्न, असल काम गर्न र सहि निर्णय लिन, सक्रिय बनाउनको निम्ति मण्डली, घरपरिवार, समाजले नै कदम चाल्नुपर्ने देखिन्छ । युवाहरुलाई प्रभुमा अघि बढाउन र सक्रिय गराउन उनीहरुलाई सुन्ने, सल्लाह दिने, अवसर दिने काम गरिनु पर्छ ।                    
 
युवाहरुको निम्ति मण्डली, परिवार पहिलो जिम्मेवारीका पक्ष हुन् । बालक हुँदा देखि नै परिवार, मण्डलीले सहि शिक्षा दिनु पर्छ । उमेर अनुसार व्यवहारिक आत्मिक शिक्षामा जोड दिनुपर्छ । त्यस्तै परिवारले वस्ता गर्ने, साथी झैँ व्यवहार गरेर सल्लाह दिने गर्नाले युवाहरुले आफैलाई परिवार प्रति खुल्ला र दायित्व बोध गराउन सक्छ । मण्डलीले पनि युवाहरुको निम्ति योजना बनाउने, अवसर दिने, युवा केन्द्रित सेवकाई गर्ने युवाहरुको निम्ति सहज वातावरण तयार गर्ने गर्नुपर्छ । त्यस्तै मण्डली चाँही मण्डली भित्र आउने युवामा मात्र सिमित नभई मण्डली बाहिरका युवाहरु माझ काम गर्न सक्रिय हुनु असल हुन्छ ।जसले गर्दा हाम्रो मण्डलीका युवाहरुलाई सेवकाई प्रति अवसर, अनुभव र उत्साह हुन सक्छ । 
 
युवा सेवकाईमालागेकाव्यक्ति स्वयं युवाहुनु राम्रो हुन्छ, जसले गर्दा युवाहरुलाई बुझ्न, उनीहरुको इच्छा, चाहना, समस्याबुझ्न सजिलो हुन्छ । युवाअगुवाले आफ्नो कार्य योजनामाध्यानदिनपनिआवश्यक हुन्छ । त्यसको साथ साथै अगुवा, युवा, अभिभावकबिच समन्वयगरि सेवा अघि बढाउनाले अझप्रभावकारी हुन्छ । सेवा गर्ने अगुवामात्रयुवाको निम्तिजवाफदेहीहुदैनन् । अभिभावकले पनियुवाहरुलाई बुझ्ने सल्लाहदिने सहायतागर्ने गर्नु उत्तमहो ।
– सुनिल राजभारत
युवा अगुवा
गलेद मण्डली, बनेपा