नेपाल जन स्वास्थ्य संघको उपाध्यक्षमा डा.कृष्णमान शाक्य निर्वाचित

turahi-news

तुरही न्यूज । १४ असोज ०७५ । काठमाडौं । नेपाल जन स्वास्थ्य संघको केन्द्रीय कार्य समितिको उपाध्यक्ष पदमा डा.कृष्णमान शाक्य निर्वाचित हुनुभएको छ । सामाजिक अभियान्ता डा.शाक्यले उपाध्यक्ष पदका आफ्ना प्रतिस्पर्धी शुदर्शन पौडेललाई १३१ को मतान्तरले हराई ५४६ मत ल्याई उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । १५ सदस्यीय नेपाल जन स्वास्थ्य संघको केन्द्रीय कार्य समितिमा डा.शाक्य उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो ।
 
डा.शाक्य गैह् सरकारी सामाजिक संस्था शान्ति नेपालको संस्थापक अध्यक्ष र कार्यकारी निर्देशक हुनुहुन्छ । यही असोज १३ गते देशभरका सातै प्रदेश, केन्द्र र काठमाडौंमा एकै समयमा नेपाल जन स्वास्थ्य संघको केन्द्रीय कार्य समितिका पदाधीकारीहरुको लागि भएको देशव्यापी निर्वाचनबाट १६०० जम्मा मत खसेको थियो । 
 
नेपाल जन स्वास्थ्य संघको केन्द्रीय समितिको उपाध्यक्ष जस्तो गरिमामय पदमा डा.शाक्य निर्वाचित भएपछि जन स्वास्थ्य सम्बन्धी पेशागत हक तथा हितको लागि आफू लागि पर्ने बताउनु भयो । 
 
नेपाल जन स्वास्थ्य संघ जनस्वास्थ्य सम्बन्धी पेशागत हक, हित र विकासको लागि स्थापना भएको जन स्वास्थ्य व्यवसायीहरुको संगठन हो । श्रोतका अनुसार नेपालभरमा ७ हजार जति जन स्वास्थ्य व्यवसायीहरु छन् । डा.शाक्यले जन स्वास्थ्य विषयमा थाइल्याण्डको एक विश्वविद्यालयबाट विद्यावारिधि हासिल गर्नुभएको छ । उहाँसँग २५ वर्षभन्दा लामो समयदेखि सामाजिक सेवामा हुनुहुन्छ । 
 
नेपाल जन स्वास्थ्य संघको अध्यक्षमा श्री कृष्ण भट्ट, उपाध्यक्ष्मा डा.कृष्णमान शाक्य, महासचिवमा महेश्वर श्रेष्ठ, सचिवमा दिपेन्द्र खड्का, कोषाध्यक्षमा विनोद जोशी,सह–कोषाध्यक्षमा संजिवकुमार साह निर्वाचित हुनुभएको छ । त्यसैगरि सदस्यहरुमा रबिकान्त मिश्र, निधु दंगाल, राजनबाबु सिलवाल, रामचन्द्र सिन्हा, कमल रानाभाट, विमल भट्ट, प्रजिता माली र रोशन लामा निर्वाचित हुनुभएको हो ।