Flash News

बनिता डंगोलको नेतृत्वमा नेकोनको प्रादेशिक नयाँ समिति गठन

turahi-news

जगदिश पोखरेल । ६ मंशिर ०७५ । ललितपुर । नेटवर्क अफ ख्रीष्टियान वर्गनाइजेसन इन नेपाल (नेकोन) को प्रदेश नं. ३ स्तरीय भेलाले बनिता डंगोलको नेतृत्वमा नयाँ कार्य समितिको चयन भएको छ । 
कार्तिक ३०, २०७५ का दिन ललितपुरको ताल्छिखेलमा अवस्थित नेहेम्याह इन्स्टीट्युटको हलमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय मण्डली संगति नेपालका महासचिव पास्टर शेर एसीले उत्साहको वचन बाँड्नुभएको थियो । 
 
त्यसपछि नेकोन राष्ट्रिय समिति सदस्य श्री दीपकराज राईले भेलामा सहभागीहरूलाई स्वागत गर्नुका साथै भेलाको उद्देश्यबारे प्रष्ट पार्नुभयो । 
 
साथै थिर केसीले सहभागीहरूलाई समूह बनाएर संस्थाहरूले भोगेका समस्याहरू र नेकोनबाट संस्थाहरूले गरेको अपेक्षाका बारेमा धारणा र सुझावहरू बुझ्ने काममा कुशल अगुवाइ गर्नुभयो भने नेकोन राष्ट्रिय समितिका संयोजक डा. कृष्णमान शाक्यले नेकोनको दर्शन, लक्ष्य, मूल्य–मान्यता जस्ता कुराहरूमाथि प्रकाश पार्नुका साथै उठेका प्रश्नहरूका बारेमा जवाफ दिनुभयो । 
यसरी निकै प्रभावकारीरूपमा सम्पन्न भएको प्रदेश नं. ३ स्तरीय भेलाले बनिता डंगोलको नेतृत्वमा ९ सदस्यीय प्रादेशिक तदर्थ समिति गठन गरेको छ । डंगोलको संयोजकत्व रहने गरी गठन भएको समितिमा उपसंयोजकमा विदुर अधिकारी, सचिवमा मेनुका थुलुङ र कोषाध्यक्षमा सिलास तामाङ  चयन हुनुभएउको छ । 
 
त्यसैगरि सदस्यहरूमा शान्ति पाण्डे, यज्ञ सिंह, रबिन्द्र दास, वीरबहादुर स्याङ्तान र पासाङ घिसिङ चयन हुनुभएको छ । पास्टर टंक सुवेदीले नवनिर्वा्चित समितिलाई बधाइ दिंदै उहाँहरूको सफल तथा प्रभावकारी कार्यकालका निम्ति परमेश्वरसँग प्रार्थना गरेपछि कार्यक्रम समापन भएको छ ।