क्रिसमससहित तेह् दिन सार्वजनिक बिदा थप्न प्रस्ताव

राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालद्धारा प्रस्तावको स्वागत

turahi-news

काठमाडौं, पुस १९ । सरकारले सार्वजनिक बिदा पुनरावलोकन गर्दै १३ दिन थप बिदा दिने प्रस्ताव गरेको छ । गृहमन्त्री रामबहादुर थापा बादल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई रहेको बिदा पुनरावलोकन समितिले विभिन्न ८ पर्वका लागि ११ दिन सार्वजनिक बिदाको प्रस्ताव गरेको हो ।
 
२०७५ सालमा घोषणा भएका सार्वजनिक बिदाहरु यथावत राख्दै सरकारले थप पर्वमा बिदा थप्ने प्रस्ताव गरेको छ। आगामी वर्षदेखि किराँत समुदायको चाड उभौली र उधौलीमा बैशाख तथा मंसिर पूर्णिमा दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । आदिवासी जनजाति महासंघको मागबमोजिम ती बिदा प्रस्ताव गरिएको हो ।
 
त्यस्तै, इदुल फित्र,बकरइद र मोहम्मद जयन्तीमा सार्वजनिक बिदा दिने प्रस्ताव गरिएको छ। त्यस्तै क्रिश्चिनय महासंघको माग तथा बिदा पुनरवलोकन गर्न सर्वोच्च अदालतको आदेशलाई समेत मध्यनजर गर्दै डिसेम्बर २५ मा क्रिसमसको दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरिएको छ । अर्को वर्षदेखि गुरुङले मनाउने तमु ल्होसार, तामाङको सोनाम ल्होसार र शेर्पाको ग्याल्वो ल्होसारमा पनि सार्वजनिक बिदा प्रस्ताव गरिएको छ। त्यस्तै छठ पर्वमा पनि विदा प्रस्ताव गरिएको छ ।
त्यसैगरि राष्ट्रिय ख्रीष्टियान महासंघ नेपालले आज एक धन्यवाद विज्ञप्ती जारी गर्दै आगामी वर्ष २०७६ का लागि क्रिसमस पर्वमा पनि सार्वजनिक विदा प्रस्ताव गरेकोमा नेपाल सरकारलाई धन्यवाद भन्दै उक्त प्रस्तावको स्वागत गरेको छ । ख्रीष्टियान महासंघका अध्यक्ष सीवी गहतराजले तुरहीसँगै कुरा गर्दै यस वर्षको क्रिसमसमा सरकारले विदा नदिएपनि आगामी वर्षमा क्रिसमस पर्वमा सार्वजनिक विदा प्रस्ताव गरेकोमा खुशी व्यक्त गर्दै उक्त विदा अनुमोदनको लागि प्रधानमन्त्री लगायत मन्त्री परिष्दलाई आग्रह समेत गरेको छ । 
 
त्यसैगरि एनसीएफ नेपालका अध्यक्ष रेभ सूर्यबहादुर बल (हनोक तामाङ)ले पनि उक्त प्रस्तावको स्वागत गर्नुभएको छ ।