जनश्रमदानबाट स्याफ्रुबेँसीमा बन्यो काठेपुल: स्थानीय र किसानलाई ठूलो राहत
रसुवा — लामो पर्खाइपछि रसुवाको स्याफ्रुबेँसीमा आमाछोदिङ्मोका स्थानीयवासीको जनश्रमदानबाट निर्मित अस्थायी काठेपुल सञ्चालनमा आएको छ ।
गोसाइँकुण्ड गाउँपालिका-५ स्याफ्रुबेँसीमा निर्माण गरिएको उक्त पुल सञ्चालनमा आएसँगै उत्तरी भेगका सर्वसाधारण तथा किसानहरूमा खुसीयाली छाएको छ । गत भदौ १० गते आएको विनाशकारी बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि रसुवाको उत्तरी भेग पूर्ण रूपमा सडक सम्पर्कबाट विच्छेद भएको थियो । सडक अवरुद्ध हुँदा गोसाइँकुण्ड गाउँपालिका (वडा नं. १ देखि ५) र आमाछोदिङ्मो गाउँपालिका (वडा नं. १ देखि ५) का सर्वसाधारणले आवतजावत र खाद्यान्न ढुवानीमा सास्ती खेप्दै आएका थिए ।
सरकारी स्तरबाट सवारी साधन सञ्चालनका लागि बेलीब्रिज निर्माणको तयारी गरिएतापनि तत्कालको समस्या समाधान नहुने देखिएपछि आमाछोदिङ्मोका स्थानीयवासी काठे पुल बनाउन आफैँ जुर्मुराएका हुन् । असोज २५ गतेदेखि स्थानीय र सुरक्षा निकायको संयुक्त सहभागितामा सुरु गरिएको पुल निर्माण कार्य निरन्तरको मेहनतपछि आज सम्पन्न भई सञ्चालनमा ल्याइएको छ ।
बारीमै कुहिन लागेका तरकारी बजार पुग्ने आशा
पुल बनेसँगै विशेष गरी स्थानीय किसानहरूले ठूलो राहतको महसुस गरेका छन् ।
सडक सञ्जाल ठप्प हुँदा किसानहरूले उत्पादन गरेका बन्दा, आलु र सिमीजस्ता नगदे बाली बारीमै कुहेर जाने अवस्था सिर्जना भएको थियो ।
गत वर्ष आमाछोदिङ्मो गाउँपालिकाका वडा नं. २, ३, ४ र ५ बाट करिब ३ करोड रुपैयाँ बराबरको तरकारी निकासी भएकोमा यस वर्ष उत्पादन बढेर करिब ६ करोड रुपैयाँ पुग्ने अनुमान थियो । तर, बाढी गएको ५० दिनभन्दा बढी बितिसक्दा पनि वैकल्पिक मार्ग नहुँदा वर्षभरिको मेहनत खेर जाने चिन्तामा रहेका किसानहरूका लागि यो काठेपुल सञ्जीवनी बनेको छ ।
अस्थायी नै भए पनि काठेपुल सञ्चालनमा आएपछि अब पैदल आवतजावतका साथै कृषि उपज बोकेरै भए पनि बजारसम्म पुर्याउन सकिने भएको छ । स्थानीयको आफ्नै सक्रियता र एकताले गाउँमा परेको ठूलो संकट टारेको भन्दै सर्वसाधारणले खुसी व्यक्त गरेका छन् ।












प्रतिकृया दिनुहोस