बाढीपीडितका लागि क्वाइनोनिया मण्डली परिषद्को २९ लाख सहयोग हस्तान्तरण
ललितपुर । बाढीपीडितहरूको सहयोगार्थ क्वाइनोनिया मण्डली परिषद्ले २९ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी जिल्ला प्रशासन कार्यालय, ललितपुरलाई हस्तान्तरण गरेको छ।
परिषद्ले संकलन गरेको २९ लाख रुपैयाँको चेक क्वाइनोनिया मण्डली परिषद्का अध्यक्ष पा. लक्ष्मीलाल महर्जन, क्वाइनोनिया पाटन मण्डलीका वरिष्ठ पास्टर डा. मंगलमान महर्जन र पा. ओमप्रकाश सुब्बाले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका प्रशासकीय अधिकृत गणेश विक्रम शाहलाई हस्तान्तरण गर्नुभएको हो।
बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा सहयोगका लागि संकलन गरिएको उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी हस्तान्तरण गरिएको जनाइएको छ।
बाढीपछि नेपालमा रहेका चर्चहरूका साथै विदेशमा रहेका नेपालीभाषी चर्चहरूले पनि प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गरेका छन्। त्यस्तै, अमेरिका, युरोप र खाडी मुलुकलगायतका देशमा रहेका नेपालीभाषी चर्चहरूले बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत वितरण तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको नेपाल ख्रीष्टियन समाजका सहअध्यक्ष डिल्लीराम पौडेलले बताउनुभएको छ।
पौडेलका अनुसार, नेपालीभाषी चर्चहरूले प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग गर्नुका साथै बाढी प्रभावित क्षेत्रमा पुगेर पीडित परिवारलाई राहत सामग्री वितरण र अन्य सहयोगसमेत गरेका छन्। उहाँले यी सहयोगले विपद्का समयमा प्रभावित नागरिकहरूलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।
विश्वभरका नेपालीभाषी चर्चहरूले ठूलो परिमाणमा राहत सहयोग गरे पनि राज्यले चर्च समुदायको योगदानलाई उचित रूपमा सम्बोधन नगरेको उहाँको गुनासो छ। विपद्का समयमा चर्च समुदायले पुर्याएको योगदानको राज्यले उचित मूल्याङ्कन गर्नुपर्ने उहाँको भनाइ छ।

“छिमेकीलाई दुःख पर्दा नेपालीभाषी चर्च समुदाय मुखदर्शक भएर बस्न सक्दैन,” पौडेलले भन्नुभयो। उहाँले नेपालमा विदेशी इसाईहरूलाई धर्म प्रचारको आरोपमा मुद्दा लगाई देश निकाला (डिपोर्ट) गरिएका घटनाहरू भए पनि देश विपद्मा परेको समयमा पीडितहरूको घाउमा मलम लगाउनु आफ्नो कर्तव्य भएको बताउनुभयो।
पौडेलले बाढीपीडितका लागि राहत तथा सहयोगका थप कार्यक्रमसमेत योजनामा रहेको जानकारी दिनुभयो।
बाढीपछि सरकारी राहत कोषमा आर्थिक सहयोग गर्ने तथा प्रभावित क्षेत्रमा प्रत्यक्ष पुगेर राहत वितरण गर्ने कार्यमा चर्च समुदायको सक्रियताले विपद्का समयमा धार्मिक तथा सामाजिक संघसंस्थाहरूको मानवीय सेवामा रहेको भूमिकालाई उजागर गरेको छ।












प्रतिकृया दिनुहोस