अपाङ्गता समावेशीकरणको सवाल र यूएमएनबाट सिक्न सकिने केही अभ्यासहरु
विश्व स्वास्थ्य संगठनको २०११ मा प्रकाशित ‘विश्व अपाङ्गता सम्बन्धी प्रतिवेदन’ अनुसार एक अरब भन्दा धेरै (विश्व जनसंख्याको लगभग १५ प्रतिशत) मा कुनै न कुनै प्रकारको अपाङ्गता रहेको छ र विकासशील देशहरूका गरिब मानिसहरूमा ५ मा १ जना वा २० प्रतिशत जनसंख्यामा अपाङ्गता देखिएको छ । यसै प्रतिवेदन अनुसार :
- • अपाङ्गता नभएका बालबालिकाहरू भन्दा अपाङ्गता भएका बालबालिकाहरूको विद्यालय जाने सम्भावना अति न्यून रहेको हुन्छ ।
- • धेरै जसो न्यून देखि मध्यम आम्दानी हुने देशहरूमा सहयोगी उपकरण/प्रविधि आवश्यक पर्ने मानिसहरूमा ५ देखि १५ प्रतिशत मानिसहरूले मात्र ती सुविधाहरू पाउने गरेका छन् भने ५८ प्रतिशत अपाङ्गता भएका पुरुषहरूको तुलनामा २० प्रतिशत अपाङ्गता भएका महिलाहरूले मात्र रोजगारी पाउँछन् ।
- • अपाङ्गता भएका व्यक्तिहरूमा हुने हिंसा अपाङ्गता नभएका व्यक्तिहरूमाथि हुने हिंसा भन्दा ४ देखि १० गुना बढी छ ।
नेपालको केन्द्रिय तथ्याङ्क विभाग अन्तर्गत वि.सं. २०६८ को जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या नेपालको कुल जनसंख्यामा १.९४ प्रतिशत रहेको थियो, जुन संख्यामा ५,१३,३२१ हुन आउछ । यसैगरि सोहि तथ्यांक बिभागको २०७८ को राष्ट्रिय जनगणना अनुसार नेपालमा अपाङ्गता भएका व्यक्तिको संख्या कुल जनासंक्यको २.२४ प्रतिशत भएको प्रकाशन गरेको छ । जस अनुसार नेपालमा कुल अपाङ्गता भएका व्यक्ति हरुको संख्या ६,५४,७८२ रहेको छ र यो मध्ये शारीरिक अपाङ्गता भएका व्यक्तिहरु ३६.७५ प्रतिशत, न्युन दृष्टियुक्त १६.८८ प्रतिशत, दृष्टिबिहीन ५.३७ प्रतिशत, बाहिरा ७.८५ प्रतिशत, सुस्त श्रवण ७.८७ प्रतिशत, श्रवण दृस्टी बिहिन १.५६ प्रतिशत, स्वोर्बोलाई सम्बन्धि अपाङ्गता ६.३६ प्रतिशत, मनोसामाजिक अपाङ्गता ४.२ प्रतिशत, बौद्धिक अपाङ्गता १.७३ प्रतिशत, हेमोफिलिया अपाङ्गता ०.७५ प्रतिशत, अटिजम सम्बन्धि अपाङ्गता ०.७५ प्रतिशत, बहु अपाङ्गता ८.७८ प्रतिशत र नखुलेको अपाङ्गता १.०७ प्रतिशत रहेको छ ।
यसै हेर्दा, अन्य मुलुकको तुलनामा नेपाल मा अपाङ्गता भएको व्यक्तिको संख्या जति हो तेती बाहिर आउन सकेको छैन। अपाङ्गताको संकुचित परिभाषा, यस प्रतिको सीमित ज्ञान, सामाजिक कलङ्क वा भेदभावको डरले गर्दा मानिसहरूद्वारा अपाङ्गता लुकाउनु, कमजोर सर्वेक्षण तथा अनुसन्धान विधि लगायतका कारणहरूले गर्दा नेपालमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको वास्तविक संख्या प्रस्तुत गर्न असम्भव नभएको वास्तविकता विभिन्न संग सस्था र सरोकारवालाको भनाइ छ । यू एम एन द्वारा बझाङ, डोटी, र कपिलवस्तु (२०१७), तथा ओखलढुंगा (२०२०) मा गरिएको अपाङ्गता सर्वेक्षण प्रतिवेदन अनुसार अपाङ्गताको जनसंख्या जम्मा जनसंख्याको ३ प्रतिशत रहेको छ । माथि उल्लिखित प्रतिवेदन अनुसार अपाङ्गता भएका व्यक्तिहरू समाजमा ठूला चुनौतीहरूको सामना गर्न बाध्य छन्, उनीहरूको गरिबी झन् झन् बृधि हुँदैछ र स्वास्थ्य, शिक्षा, जीविकोपार्जनका अवसर तथा सार्वजनिक क्षेत्रमा उनीहरूको पहुँच साह्रै न्यून हुन्छ | त्यसमा पनि अपाङ्गता भएका बालबालिका, महिला तथा दलितहरूले विभिन्न प्रकारका भेदभाव तथा बहिष्कारको सामना गर्नुपर्ने हुन्छ । नेपालको विस्तृत जिल्ला अनुसारको अपाङ्गता सम्वन्धि थप जानकारी लिन केन्द्रिय तथ्याङ्क विभाग र राष्ट्रिय अपाङ्ग महासंघको वेभसाईट हेर्न सकिन्छ ।
यसैगरी अपाङ्गता भएका व्यक्तिको आर्थिक तथा सामाजिक विकासका लागि भएका नीति गत, कानुनी व्यवस्था र सञ्चालित कार्यक्रमले अपाङ्गता भएका व्यक्ति को प्रतिनिधित्व, सहभागिता, विद्यमान स्रोत साधनमा पहुँच आदिमा वृधि हुँदै गएको पाइन्छ। साथै जीविकोपार्जन, उद्यमशीलता र रोजगारीमा समेत येथेस्ट रुपमा सहभागिता नभएको अवस्था देखिन्छ । यति हुँदाहुँदै पनि विधिन्न परिस्थिति र अवस्थाको कारण अपाङ्गता भएका व्यक्तिहरूले विविध समस्याहरू भोगिरहेका छन् र पाउनुपर्ने न्यूनतम अधिकारबाट पनि वञ्चित भएका देखिन्छ। भर्खरै मात्रै लागु भएको नेपालको अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति २०८० ले उल्लेख गरे अनुसार अपाङ्गता भएका व्यक्तिको एकीकृत तथ्याङ्कको अभिलेख तयार नहुनु, अपाङ्गता भएका व्यक्तिको हक अधिकार पूर्ण रूपमा कार्यान्वयन हुन नसक्नू, सबै तहमा भौतिक संरचनाहरू अपाङ्गता मैत्री नहुनु, अपाङ्गता को क्षेत्रमा काम गर्ने गैर सरकारी निकायहरूसँग समन्वय र सहकार्य कमी हुनु, अपाङ्गता भएका व्यक्तिको लागि रोजगारी, सामाजिक सहभागिता र आय आर्जनका अवसरमा समान पहुँच नहुनु, विभिन्न अवरोध, विभेद र असमान व्यवहारको अवस्था विद्यमान हुनु, सूचना सञ्चार तथा प्रविधि अपाङ्गता भएका व्यक्ति को लागि पहुँच युक्त हुन नसक्नू, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि नियमित स्वास्थ्य सेवा, परामर्श सेवा, प्रयोग गरिने सहायक सामग्री र पुनर्स्थापना सेवा उपलब्ध नहुनु, सबै क्षेत्रका निर्णयका तहमा अपाङ्गता भएका व्यक्ति को न्यून सहभागिता हुनु जस्ता विषयहरू प्रमुख समस्याको रूपमा रहेका छन् ।
अपाङ्गता भएका व्यक्तिलाई आवश्यकताका आधारमा सहायक सामग्री पर्याप्त मात्रामा उपलब्ध गराउन नसक्नू र प्रारम्भिक अवस्थामै अपाङ्गता को पहिचान गरी आवश्यकता अनुरूप पुनर्स्थापना सेवा समुदायस्तरमा पुर्याउनु नसक्नू, दैनिक रूपमा सेवा र सहयोग आवश्यक पर्ने अति अशक्त र पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरूको मर्यादित र सम्मानित जीवनयापनका लागि पर्याप्त कार्यक्रम नहुनु, परिचयपत्र वितरणलाई सबैको पहुँचमा पुर्याउन नसक्नू र शिक्षा, स्वास्थ्य, रोजगारी र सार्वजनिक जीवनमा अपाङ्गता भएका व्यक्तिहरूको पहुँच ज्यादै न्यून हुनु जस्ता थप समस्या यस क्षेत्रमा विद्यमान छन् । राजनीतिक क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको सहभागिताको अवस्था हेर्ने हो भने प्रतिनिधिसभामा एक जना र राष्ट्रिय सभामा चार जना रहेको पाइन्छ । त्यसैगरी निजामती सेवा लगायत विभिन्न सरकारी तथा सार्वजनिक सेवामा अपाङ्गता भएका व्यक्तिका लागि ५ प्रतिशत, आरक्षणको व्यवस्था गरिएको छ र तर निजामती सेवामा अपाङ्गता भएका व्यक्तिको सहभागिता २०६४/०६५ देखि २०७६/०७७ सम्म ९९६ जना रहेको देखिन्छ जुन समग्रमा १ प्रतिशत को हाराहारीमा मात्रै भएको देखिन्छा। यसले के देखाउछ भने अपाङ्गता भएका व्यक्तिहरुको शासक्तिकरंकोलागी राज्यले अझै धेरै प्रयास गर्नु पर्ने हुन्छ तोकियको आरक्षण मात्रै पनि लागु गर्ने हो भने।
यसैगरी राज्यमा देखिएको यस क्षेत्रका प्रमुख चुनौतीहरूमा सङ्घ, प्रदेश र स्थानीय तहमा अपाङ्गता मैत्री विषयलाई संस्थागत एवं आन्तरिक करण गर्नु, सामाजिक संरचना र सोचमा परिवर्तन गर्नु, नेतृत्व तहमा अपाङ्गता भएका व्यक्तिको निर्णायक भूमिकामा वृद्धि ल्याउनु,, सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि पूर्वाधार, आवश्यकतानुसार सेवा सुविधा तथा सहायक सामाग्रीहरूको व्यवस्थापन गर्नु, अपाङ्गता भएका व्यक्ति प्रति गरिने विभिन्न प्रकारका अन्धविश्वास, विभेद र हिंसा अन्त्य गरी न्यायमा पहुँच बढाउनु, अपाङ्गता भएका व्यक्तिको आर्थिक एवम् सामाजिक सशक्तीकरण गर्नु र अपाङ्गता भएका व्यक्ति को खण्डी कृत तथ्याङ्क संकलन गरी राज्यबाट विशेष सुविधा प्रदान गर्नु जस्ता रहेका छन् ।
यो परिवेशलाई मध्येनजर गर्दै र नेपालको १६ औ योजनाको सामाजिक न्यायको उधेश्यलाई साँचो रुपमा सार्थक पार्न सम्बन्धित निकाय र सरोकारवालाको अर्थपूर्ण योगदान को जरुरी छ र यसको लागि युनाइटेड मिसन टु नेपाल (यू एम एन) पनि प्रतिबद्धरहेको यू एम एनक सबै कार्यक्रम र प्रयाश्हरुले देखाउछ ।
युनाइटेड मिसन टु नेपाल (यू एम एन) नेपालमा सन् १९५४ मा स्थापित भइ, ईसाइ मूल्य मान्यतामा रहेर नेपालका गरिब र विपन्न समुदायहरूको जीवन प्रसस्तताको जीवनमा रूपान्तरण गर्नको लागि कार्यरत एक अन्तरराष्ट्रिय गैरसरकारी संस्था हो । स्वास्थ्य, शिक्षा र सामुदायिक विकासलाई मूल क्षेत्रको रूपमा लिई विगत ७० वर्षदेखि यो संस्था नेपालमा कार्यरत छ । हालसम्म यू एम एनका चार मुख्य क्षेत्र १) अपाङ्गता समावेशीकरण, २) लैङ्गिक समानता, ३) वातावरण तथा जलवायु परिवर्तन र ४) द्वन्द्व संवेदनशीलता यू एम एनका अन्तरसम्वन्धित (Cross-cutting) सवालहरू थिए भने सन् २०२५ अगाडी लैंगिक समानता, अपाङ्गता, सामाजीक समाबेशीकरण, शुशाशन, प्रकोप जोखिम न्यूनीकरण र जलबायु परिवर्तन बिषयहरु यसका अन्तरसम्बन्धित सवालहरु हुने भनिएको छ। जसलाई अंग्रेजीमा Gender Equality, Disability, Social Inclusion (GEDSI), Disaster Risk Reduction (DRR), Good Governance and Climate Change भनिएकोछ।
अपाङ्गता समाबेशीकरण, यू एम एनको एउटा बिकास को रणनीति को मुख्य क्षेत्र भएकोले यू एम एनले यसलाई बिषयगत क्षेत्र र अन्तरसम्बन्धित क्षेत्र गरि दुवै पक्ष ले आफ्नो संस्थागत र कार्यक्रममा मुल्प्रबहिकरण गर्दै आएको छ। यसै सिलसिलामा यू एम एनले सन् २००५ देखि विभिन्न अपाङ्गता सम्बन्धी कार्यक्रमहरू जस्तै: पुनर्स्थापना संवाहक कार्यक्रम, समुदायमा आधारित पुनर्स्थापना (CBR) र अपाङ्गता समावेशी विकास जस्ता अपाङ्गता भएका व्यक्ति लक्षित कार्यक्रमहरू संचालन गर्दै आइरहेको छ । सन् २०१९ जुलाईदेखि अपाङ्गता समावेशीकरणलाई संस्थामा अन्तरसम्बन्धित सवालको रूपमा अनुमोदित गरिएको थियो र यसलाई लागू गर्न संस्थाले अपाङ्गता समावेशीकरण र पहुँचयुक्त नीति सन् २०२१ मा निर्माण गर्यो जसको मुख्य उद्देश्य यू.एम.एन. भित्र, संस्थाका साझेदारहरू तथा कार्यक्रमहरूमा अपाङ्गता सम्बन्धी सवालहरूलाई प्रभावकारी तथा दक्ष रूपमा मूलाधारमा ल्याउन सहजीकरण गर्ने, र अपाङ्गता भएका व्यक्तिहरूको अर्थ पूर्ण तथा सम्मान जनक समावेशीकरणको सुनिश्चितमा गर्नु रहेको छ । यो नीति संयुक्त राष्ट्र संघको अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी महासन्धी (UNCRPD) २००६, दिगो विकासका लक्ष्यहरू (SDGs) २०१६–२०३०, नेपालको संविधान, अपाङ्गता अधिकार ऐन २०७४ र त्यसको नियमावली २०७७, अपाङ्गता भएको व्यक्तिको राष्ट्रिय नीति २०८० साथै नेपाल सरकारको पहुँचयुक्त भौतिक संरचना तथा संचार सेवा निर्देशिका २०६९ (Physical and communication Accessibility Guideline 2013) अनुरूप छ ।
बाइबल अनुसार येशू ख्रीष्टले आफ्नो सेवकाईको अवधिमा अपाङ्गता भएका एवं अशक्त व्यक्तिहरूलाई प्रमुख प्राथमिकताका साथ सेवा र चंगाई गर्नुभएको उदाहरणको अनुसरण गर्न र संसारभरि अपाङ्गता सम्बन्धी आवश्यकताहरू बढ्दै जाँदा दिगो विकासका लक्ष्यहरू (SDGs) हरूले “No One Left Behind (कोही नछुटुन)” भन्ने मुख्य सिद्धान्तलाई विश्वको विकास क्षेत्रमा प्रमुख प्राथमिकतामा राखेको अवस्थालाई सम्बोधन गर्न , यू एम एन ले अपाङ्गता समावेशीकरणलाई एउटा अन्तरसम्बन्धित सवालको रूपमा लिने निर्णय गरेको हो । यू एम एन का ६ वटा मूल्य मान्यता मध्ये मुख्यगरी २ वटा मूल्य मान्यताहरू १. न्याय र समता तथा २. गरिब तथा सीमान्त कृतहरू प्रति विशेष सरोकार अपाङ्गता सम्बन्धी मामिलाहरूसँग प्रत्यक्ष सम्बद्ध मुख्य संस्थागत मूल्यहरू हुन् ।
यूएमएनको अपाङ्गता समावेशीकरण नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नलाई सो सम्बन्धी सम्पूर्ण सरोकारवालाहरू लाई प्रविधिक जानकारी र सीप दिन यू एम एनले अपाङ्गता सँग सम्बन्धित दुईवटा प्रविधिक कार्यनिति निर्माण गरि कार्यान्वयन गरेको छ जुन १. सामूदायिक विकासमा अपाङ्गता भएका व्यक्तिहरुको समावेशीता निश्चित गर्ने कार्य निर्देशिका र २. अपाङ्गता पुनर्स्थापना संवाहक (Disability Rehab Ambassadors) निर्देशिका हुन जसले यू;एम एन मा संस्थाको कार्यक्रम र संस्थागत प्रणालीमा अपाङ्गता को सवाललाई समाबेशीकरण गर्न सजिलो बनाएको छ । यद्दपी यू एम एनले समाजमा पछाडी पारिएका र परेका सम्पूर्ण समुदयहरु बिशेष गरि महिला, बिपन्न र दलित समुदाय, मधेशी, जनजाती लगायत सबै यसका कार्यक्षेत्रका परिबेशले पछाडी परेका सबै बहिष्करणमा परेका समुदायलाई आफ्नो रणनीतिको केन्द्रमा राखेर उनीहरुको अर्थपूर्ण समबेशिताको लागि काम गर्छ, जसको लागि यू एम एनले भर्खरै लैंगिक समानता, अपाङ्गता, सामाजीक समाबेशीकरण (Gender Equality, Disability, Social Inclusion (GEDSI), नीति बनाएर लागु गर्दै छ।
यू एम एनले अपाङ्गता र अपाङ्गता समावेशीकरणलाई कसरी परिभाषित गर्छ, कुन अवधारणा र रणनीति मा कार्य गर्छ भन्ने वारे र मण्डलीहरूमा यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने बारेमा पनि कहि छलफल र सुझाउहरू यहाँ प्रस्तुत गरिन्छ ।
अपाङ्गताको बुझाई र यसको परिभाषा:
अपाङ्गता एउटा अवस्था हो न कि यो रोग वा पूर्व जन्मको पापको कारणले आएको परिणाम हो । संयुक्त राष्ट्र संघको अपाङ्गता भएको व्यक्तिहरूको अधिकार सम्बन्धी महासंन्धी २००६ ले अपाङ्गता लाई एउटा मानव विविधताको रुपमा हेर्छ जुन यसको आठ ओटा रणनीति मध्य एउटा रणनीति हो । जसरी मानिस लिङ्ग, आकार, र रंङ्ग को आधारमा विविध छ त्यसरी नै शारीरिक बनावट र कार्य क्षमताको आधारमा पनि मानिस भित्र विविधता छ भन्ने तथ्यलाई स्विकार्नु आवश्यक छ र पहुँचयुक्त वातावरण पाएमा उनीहरूले पनि अरू जस्तो कार्य गर्न सक्छन् भन्ने वास्तविकता बुझ्नु जरुरी छ । तर हाम्रो सामाजिक, भौतिक, नीति गत र संचारगत विविध वाधाहरूले अँझ भनौं भने विभेदकारी सोच र संरचनाहरूले उनीहरूलाई केही गर्न सक्दैनन् भन्ने मानसिकता विकास गरेको छ र उनीहरू कठै बिचरा भन्ने लाल्छानायुक्त र दयनीय वातावरणमा बाँच्न बाध्य पारेको छ । हाम्रो समाजले उनीहरूमा उनीहरूले गर्न सक्ने क्षमता भन्दा पनि गर्न नसक्ने सक्षमतालाई देख्ने गरेको तीतो यथार्थ छ जुन उनीहरू प्रतिको असहज र पहुँययुक्त नभएको वातावरणको उपज हो र यो वातावरण उनीहरू प्रति विलकुलै अनुत्तरदायी भएको अवस्थाले सिर्जित भएको अवस्था हो । तसर्थ व्यक्ति मा हुने अपाङ्गता मा उ भित्रको शारीरिक वा मानसिक क्षिणता भन्दा पनि उ रहेको स्थानको असहज वातावरण को परिणाम हो भनि बझ्नु उचित हुन्छ ।
विश्व स्वास्थ्य संगठन अन्तर्गत को आई सी एफ ले भन्दछ की अपाङ्गता विभिन्न कारणले व्यक्तिको शरीर भित्र आएको भौतिक वा मानसिक क्षति र यसले व्यक्तिमा ल्याएको कार्य गर्ने सीमितता र त्यो व्यक्ति बस्ने वातावरणको अन्तरक्रियाबाट निर्धारण हुन्छ । यसलाई यसरी उल्लेख गर्न सकिन्छ ।

अपाङ्गता = कार्यगत सिमितता x वातावरण
यहाँ अपाङ्गता स्वास्थ्य र क्षीणता बाट शूर हुन्छ र त्यो व्यक्ति बसेको परिवेश वा वातावरणले उसलाई असमर्थ बनाउँछ, यसको मतलब यदी वातावरण सहज वा पहुँचयुक्त छ भने, अपाङ्गता हुँदैन । तसर्थ, अपाङ्गता व्यक्तिको आन्तरिक पक्ष भन्दा पनि बहिय पक्षको प्रमुख भूमिका हुन्छ अपाङ्गता निर्धारण गर्नमा ।
सोहि अनुसार यू एन सी पी डी ले यसलाई यसरी परिभाषित गर्छ “अपाङ्गता एउटा ‘क्रमिक विकास हुँदै गरेको अवधारणा’ हो किनकी ‘अपाङ्गता भनेको असमर्थता भएका व्यक्तिहरू बीचको अन्तरक्रिया तथा सामाजिक जीवनमा अरू व्यक्तिहरू समान उनीहरूको पूर्ण तथा प्रभावकारी सहभागिता हुनमा अवरोध पुर्याउने मनोभावगत तथा वातावरणीय अवरोधहरूको परिणाम हो” । यो आफ्नो परिवेश अनुसार देशले परिभाषा निर्धारण गर्न सक्ने अवधारणा भएको हुँदा नेपालले अपाङ्गता अधिकार ऐन २०७४ मार्फत यूएनसीआरपीडीकै आधारमा अपाङ्गता भएका व्यक्ति लाई यसरी परिभाषित गरेको छ:
“अपाङ्गता भएका व्यक्ति” भन्नाले त्यस्तो व्यक्तिलाई बुझाउँछ जसमा दीर्घकालीन शारीरिक, मानसिक, बौद्धिक, वा सम्वेदात्मक अपाङ्गता वा क्रियात्मक असमर्थता वा विद्यमान बाधाहरू रहेका हुन्छन् जसले सामाजिक जीवनमा अरू व्यक्तिहरू समान पूर्ण तथा प्रभावकारी सहभागिता हुनमा उनीहरूलाई अवरोध पुर्याइरहेका हुन्छन् ।
यू एम एनले यही नेपालको अपाङ्गता अधिकार ऐन २०७४ को परिभाषा अनुसार अपाङ्गता लाई परिभाषित गर्दछ ।
यी सबै परिभाषा अनुसार समग्रमा हेर्दा मुख्य बुझ्नु पर्ने कुरा के हो भने अपाङ्गता एउटा व्यक्तिमा आएको क्रियाकलापमा सीमितता मात्र हो जुन व्यक्तिको शारीरिक वा मानसिक क्षीणता र उ बसेको असहज वातावरण वा बिधमान अवरोधहरू को अन्तरक्रिया को परिणाम हो जसमा असहज वातावरण को भूमिका मुख्य हुन्छ । यसमा क्षीणतालाई परिवर्तन गर्न गाह्रो हुन्छ जसलाई मानवीय विविधता को रूपमा स्विकार्नु पर्ने हुन्छ तर असहज वातावरणलाई अपाङ्गता मैत्री वा पहुँचयुक्त बनाई व्यक्तिलाई उ रहेको वातावरण मा सहज रूपले सहभागी गराउन सकिन्छ जसले उ भित्रको अपाङ्गता लाई कम गर्दछ ।
नेपाल सरकारले अपाङ्गता लाई प्रकृति वा क्षीणता को आधार मा १० प्रकारले विभाजन गरेको छ भने कार्य क्षमताको अधर्म ४ प्रकारले विभाजन गरेको छ जुन अपाङ्गता अधिकार ऐन २०७४ मा उल्लेख छ ।
अपाङ्गता समावेशीकरणको बुझाई र यू एम एनमा यसको अभ्यास
यू एम एनले संयुक्त राष्ट्र संघ को अपाङ्गता समावेशीकरण रणनीतिलाई नै आधार मानेको छ जुन अनुसार ‘अपाङ्गता समावेशीकरण’ भन्नाले यू एन सी आर पी डी को मर्म अनुरूप आफू वरपरका सम्पूर्ण विविध वातावरणमा अपाङ्गता भएका व्यक्तिहरूको अर्थ पूर्ण सहभागिता बृधि गर्ने, संस्थाका सम्पूर्ण कार्यहरूमा उनीहरूको अधिकारलाई प्रवर्धन एवं मूलप्रवाहीकरण गर्ने, अपाङ्गता केन्द्रित कार्यक्रमहरूको विकास तथा अपाङ्गता सम्बन्धी दृष्टिकोणहरूलाई महत्व दिने कुरा बुझाउँछ । त्यसका लागि कुनैपनि कार्यक्रम निर्माणका सबै क्षेत्रहरूमा अपाङ्गता सहभागिताको एउटा दिगो तथा व्यवस्थित पद्धतिको विकास तथा कार्यान्वयनको आवश्यकता पर्दछ जसमा दुई पक्ष बाट कम गर्न सकिन्छ, पहिलो अपाङ्गता भएको व्यक्तिहरूलाई एकीकृत गरि सशक्त गर्नु (दाहिने पट्टिको पहिलो चित्र जस्तै) र दोस्रो, भइरहेको संरचना वा वातावरणलाई पहुँचयुक्त बनाएर (दोस्रो चित्र जस्तै) ।
यहाँ समाबेशीकरणको मुख्य पाटो भनेको हाम्रो कार्यक्रम वा सबै वातावरणहरू अपाङ्गता भएका व्यक्तिको सहज सहभागी गराउनु हो जुन यहाँ उल्लिखित उदाहरण अनुसार प्रस्ट पारिएको छ ।
क्षिणता (Impairment) + वाधाहरू वा बिधमान अवरोधहरू (Barriers) = अपाङ्गता (Disability) र वहिष्करण भएको अवस्था, उदाहरण को रूपमा हेर्दा:
आँखा नदेख्ने व्यक्ति (क्षिणता) + हतेपुस्तक वा power point प्रस्तुति द्वारा बैठक (वाधाहरू वा विधमान अवरोधहरू) = आँखा नदेख्ने व्यक्ति छलफल मा सहभागी हुन नसक्नू (अपाङ्गता वा वहिष्करणको अवस्था)
अपाङ्गता कसरी कम गर्न सकिन्छ वा कसरी समावेशिता ल्याउन सकिन्छ त ?
आँखा नदेख्ने व्यक्ति (क्षिणता) + छलफल मा आधारित बैठक (सहज वातावरण) = आँखा नदेख्ने व्यक्ति छलफल मा सहभागी हुन सक्ने (समाबेशीकरण)
यहा क्षीणता परिवर्तन गर्न सकिँदैन तर वातावरणलाई सहज बनाएको छ, यस्तै अर्को उदाहरण:
क्षिणता (खुट्टा नभएको व्यक्ति) + पहुँचयुक्त वातावरण (ह्व्लिचियर उपलव्ध गराउने + घर, कार्यालय, बैठक ह्व्लिचियर मैत्री वनाउने) = अपाङ्गता घटेको र समावेशिता बढेको अवस्था ।
यसरी अपाङ्गता भएको व्यक्तिलाई उसको क्षीणता लाई मानवीय विविधताको रूपमा स्वीकार गरि उ बसेको वातावरण लाई सहज बनाई उसको समावेशिता बृधि गर्न सकिन्छ ।
• यूएमएनले आफ्नो परिवेशमा निम्न अवस्थालाई अपाङ्गता समाबेशीकरण भएको मान्दछ ।
• संस्थाका संरचनाहरू, सामुदायिक समूहहरू, बैठकहरू, वा अन्य अन्तर क्रियात्मक कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूको औपचारिक वा अनौपचारिक सहभागिता ।
• कुनै संकोच वा अवरोध बिना अपाङ्गता भएका व्यक्तिहरूको आफ्ना विचारहरू व्यक्त गर्न सक्ने तथा आफ्ना अधिकारहरू दाबी गर्न सक्ने क्षमता ।
• अपाङ्गता भएका व्यक्तिहरूको उपलब्ध स्रोत-साधनहरूलाई प्रभावकारी रूपमा नेतृत्व, मार्गदर्शन, तथा परिचालन गर्न सक्ने क्षमता ।
• संस्थाभित्र तथा उनीहरू सहभागी हुने कार्यक्रमहरूमा अपाङ्गता भएका व्यक्तिहरूमा स्वामित्वको भावना तथा सम्मान पूर्ण वातावरण भएको ।
यूएमएनले मुख्य पद्धतिका रूपमा द्वि मार्गी अवधारणा (Twin Track) लागू गर्नेछ, जुन संयुक्त राष्ट्र संघीय संस्थाहरूद्वारा सबभन्दा धेरै प्रयोग गरिएको पद्धति हुनुका साथै प्राय अपाङ्गता मूलप्रवाहीकरण तथा समावेशी विकास विषयगत क्षेत्रमा लागेका विकास संस्थाहरूका अपाङ्गता मूलप्रवाहीकरण कार्यमा धेरै सान्दर्भिक पद्धति हो ।
यो अवधारणाको पूरकको रूपमा यस नीतिमा मुख्यतया चार वटा रणनीतिहरू अपनाएको छ | ती हुन् क) क्षमता विकास तथा सचेतना वृद्धि ख) सहभागिता तथा नेतृत्व बृधि ग) पहुँचयुक्तता घ) बालिका, महिला,तथा विपन्न अल्पसंख्यक समूहका मानिसहरूलाई केन्द्रमा राख्ने, आदि ।

यूएमएन तथा यसका साझेदारहरूले आफ्ना कार्यक्रम तथा सभाहरूमा अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरण सुनिश्चित गर्नका लागि विश्वव्यापी ढाँचा (Universal Design) सिद्धान्त लाई अपनाउँदै उपयुक्त अनुकूलन (Reasonable Accommodation) पद्धतिलाई प्रयोग गरेको छ ।
यूएमएन ले मानिसहरूको क्षमता, उमेर, लिङ्ग, आस्था, सामाजिक पृष्ठभूमि, तथा यस्तै अन्य कुनै पनि विशेषताको आधारमा भेदभाव नगरी सबै व्यक्तिहरूलाई समान सदस्यको रूपमा महत्व दिन्छ, र सबैभन्दा गरिबी मा रहेका मानिसहरू सँग उनीहरूको जीवनमा प्रशस्तता ल्याउन सहकार्य गर्न प्रतिबद्ध छ । यू एम एन आफ्नो संस्थाभित्र तथा यसका सबै कार्यक्रमहरूमा गरिने सम्पूर्ण कार्यहरूका सबै तहहरूमा निम्नलिखित छ वटा मुख्य प्रतिबद्धताहरूको पालना गरि अपाङ्गता समाबेशीकरण अवलम्बन गरेको छ ।
प्रतिबद्धता १ : यूएमएनका सम्पूर्ण कर्मचारीहरू, साझेदार कर्मचारीहरू लगायत सल्लाहकार एवम् स्वयंसेवक, बोर्ड सदस्य तथा अन्य स्वयंसेवकहरूलाई यू एम एन को अपाङ्गता समावेशीकरण तथा पहुँच सम्बन्धी नीति प्रति तालिम वा अभिमुखीकरण द्वारा जानकार गराउने।
प्रतिबद्धता २ : यूएमएन का सम्पूर्ण कार्यक्रमहरू सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको उमेर, लिङ्ग, आस्था, जातीयता, वा अन्य कुनै पनि विशेषताहरूलाई आधार नमानी उनीहरूलाई समुदायमा भेदभावरहित, समावेशी, तथा पहुँचयुक्त वातावरण बनाउने कार्यतिर लक्षित हुने ।
प्रतिबद्धता ३ : यूएमएन वा यसका साझेदारहरूद्वारा आयोजित कुनै पनि तालीम, बैठक तथा कार्यशाला जस्ता सम्पूर्ण कार्यक्रमहरू अपाङ्गता भएका व्यक्तिहरूको लागि समावेशी तथा पहुँचयुक्त बनाउने ।
प्रतिबद्धता ४ : यूएमएनका केन्द्रीय तथा क्लस्टर कार्यालयहरू तथा तिनिहरूको कार्यालय परिसर, साथै साझेदारहरूको पनि कार्यालय परिसर सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूलाई सहज स्वागत योग्य तथा पहुँचयुक्त बनाउने ।
प्रतिबद्धता ५ : यूएमएनका सेवा प्रणाली तथा प्रविधिहरू लगायत सम्पूर्ण सूचना तथा संचारका प्रणालीहरू सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्त तथा सम्मान जनक बनाउने ।
प्रतिबद्धता ६ : यूएमएन तथा यसका साझेदारहरूलाई आफ्ना कार्यस्थलहरूमा समावेशी तथा पहुँचयुक्त वातावरण बनाउन प्रोत्साहन गर्ने र अपाङ्गता भएका व्यक्तिहरूले कार्य गर्न सक्ने उपयुक्त अनुकूलताको वातावरण बनाउने । यी सबै प्रतिबद्धताहरू अबका दिनमा यूएमएनको GEDSI नीति मार्फत अपाङ्गता क्षेत्रमा लक्षित कार्यक्रमहरु संचालन र अन्य बिकासका एकिकृत कार्यक्रमहरुमा मुल्प्रबहिकरण गरेर लागु गर्ने रणनीति लिएको पाइन्छ ।
यूएमएनको यी प्रतिबद्धताहरू, तौर तरिका र अभ्यास अनुसार नेपालका ख्रीस्टीयन संघ संस्थाहरू र मण्डलीहरूमा अपाङ्गता समावेशीकरणलाई कसरी लागू गर्न सकिन्छ भन्ने बारेमा यहाँ केही छलफल गरिन्छ।
यूएमएनले सर्वाङ्गीण विकास विषयगत क्षेत्र अन्तर्गत नेपालका खी्रष्टिय मूल्य मान्यतामा रहि सामुदायिक विकासमा कार्य गर्ने संघ संस्था, मण्डलीहरू लगायत अन्य धार्मिक आस्थाका समूह र संस्थाहरूलाई सामुदायिक विकास एवं अपाङ्गता समावेशी विकासमा सबलीकरण गर्ने कार्य गरिरहेको छ । जस अन्तर्गत मुख्य कार्यहरूमा अपाङ्गता र अपाङ्गता समावेशीकरणमा ठीक बुझाई ल्याउन विभिन्न तालिम, अभिमुखीकरण र सचेतताका कार्यक्रमहरू चलाउँछ भने अपाङ्गता भएका व्यक्तिहरूलाई ठीक तरिकाले पहिचान गर्ने र उनीहरूको विशेष आवश्यकता पहिचान गरी उनीहरू अनुरूपको वातावरण निर्माण गर्न सहजि करण गर्दछ । यूएमएनले गरेको अनुभव र अभ्यासबाट विशेष गरी नेपालका संघ संस्था र मण्डलीहरूलाई सबै व्यक्तिहरू र समुदायको पहुँचयुक्त र अपाङ्गता समावेशी बनाउन मुख्यतया निम्न ३ पक्षबाट विश्लेषण र अभ्यास गर्न सकिन्छ ।
१. नीतिगत वा संस्थागत अभ्यास
२. धारणा र व्यवहार
३. भौतिक तथा संचारगत वातावरण
नीतिगत वा संस्थागत अभ्यास
संस्था र मण्डलीका अभ्यास र व्यवस्थापककीय प्रणालीहरू र ती संचालन हुने तौर तरिकाहरू यस अन्तर्गत पर्दछन । सामान्यतया ती प्रणाली र तौर तरिकाहरू त्यस संस्था र मण्डलीहरूको नीति नियम र मुख्य शिक्षा वा ज्ञानको श्रोतमा भर पर्छन् । संस्थाको अपाङ्गता समाबेशीकरणको सन्दर्भमा कुरा गर्दा, संस्थाको विधान लगायत अन्य सम्पूर्ण नीति, नियम, निर्देशिकाहरू अपाङ्गता समावेशीकरण प्रति संवेदनशील छन् की छैनन् त्यसमा भर पर्दछ । मण्डलीको सन्दर्भमा कुरा गर्दा बाईबलिय ज्ञान वा शिक्षाले अपाङ्गता भएका व्यक्ति प्रति कस्तो बुझाई राख्छ त्यसमा भर पर्दछ । समग्र पक्षमा हेर्दा नेपालको अपाङ्गता अधिकार ऐन २०७४ ले तोकिए अनुसारको अपाङ्गता भएका व्यक्तिहरूले पाउने अधिकारहरू हाम्रा संस्था र मण्डलीहरूले निर्माण गरेका नीति नियमहरूले समेट्छ कि समेट्दैन विश्लेषण गर्नु पर्ने हुन्छ ।
विशेषगरी मण्डली को सन्दर्भमा कुरा गर्दा, येशूले भन्नुभयो, “पुनरुत्थान र जीवन म नै हुँ।” जुन मानिसले ममा विश्वास गर्दछ ऊ मरे पनि उसले जीवन पाउने छ” यूहन्ना ११:२५ । यहाँ, बाईबलको मुख्य शिक्षा भौतिक शरीर भन्दा आत्मिक जीवन महत्पुर्ण हो र हामीमा भएका कुनैपनि अवस्था पापको कारण भन्दा पनि परमेश्वरको महिमाको लागि हो भन्ने बुझिन्छ। यसैगरी यूहन्ना ९: २ र ३ मा येशूले दृष्यविहिन व्यक्ति न उसको पाप, न उसको आमा बुवाको पापको कारणले दृष्यविहिन भएको कुरा गर्नुभएको छ । तसर्थ यसको आधारमा के बुझ्न सकिन्छ भने अपाङ्गता पापको कारणले होइन बरु परमेश्वर को महिमाको लागि हो भन्ने कुरा स्पष्ट रूपमा बुझन सकिन्छ यद्यपि बाईबलिय आधारमा अपाङ्गता र पाप विषयमा थप छलफल र विमर्श हुन आवश्यक हुन्छ । हुन त यो लेखमा देखाइएको अपाङ्गता सँग सम्बन्धी बाइबल को आधार निक्कै कम हुन सक्छ र यो वास्तवमा कम पनि हो ।
मानिसमा आउने अपाङ्गता पापको कारणले होइन भन्दा यो कुरालाई स्विकार्नु ख्रीस्टियन संस्था र मण्डलीहरूलाई निक्कै चुनौती हुन सक्छ तर राज्यका कानुन, नीति नियम र राष्ट्रिय र अन्तरराष्ट्रिय मानवअधिकारका आधार हरू ख्रीस्टियन समुदाय र समाजले बुझ्नु आजको आवश्यकता देखिन्छ । अपाङ्गता आफूले चाहेर हुने कुरा होइन र यो अवस्था भोलि जो कोहीलाई पनि हुन सक्छ, त्यसैले आफूले नचाहेर आउने कुराले उसलाई लाञ्छना लाउनु र उसको जीवन भरि कठिन अवस्था ल्याउनु र पापी ठहर्याउनु अझ भनौं भने उसले पाउने सेवा सुविधा र अधिकार बाट बन्चित गर्नु बिलकुलकै रूढिवादी हुन सक्छ र मानवअधिकारको विरुद्ध हुन्छ । यो विषयमा येशू ख्रीस्टले आफ्नै व्यवहार बाट अपाङ्गता भएका व्यक्तिहरूलाई सेवा गरेर, सशक्त गरेर देखाउनु भएको छ र यसै गर पनि भन्नु भएको छ । बाइबल मा हितोपदेश ३१: ८,९ मा गरिब र अन्यायमा परेकाहरुको अधिकार को रक्षा गर भनेको छ । यो सत्य हो तर अपाङ्गता भएको व्यक्तिको सवालमा बोल्दा उनीहरू केही गर्न सक्दैनन् भनेर वा बिचरो सम्झेर सहयोग गर्नु भन्दा उसले के गर्न सक्छ भन्ने उ भित्रको क्षमता बुझेर त्यो क्षमतालाई प्रस्फोटन गरि सशक्त बनाउने वा त्यसको लागि उत्प्रेरणा दिने कुराले उसको दिगो विकास हुने र उसले आत्म सम्मानको महसुस गर्छ जुन मण्डली का सबै नियम, व्यवस्था, प्रणाली वा संरचना र त्यसको अभ्यासमा आउनु पर्छ ।
यसै सन्दर्भमा महत्वपुर्ण कुरा के हो भने संस्था वा मण्डलीहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई येशू ख्रीष्टले गरे जस्तै गरी निशर्त र अगापे प्रेम गर्नु र त्यहाँ हुने कुनै पनि नीति नियम, समूह वा झुण्डहरूको संरचना, निर्णय तह वा छलफलहरूमा अपाङ्गता भएको व्यक्तिहरूको संलग्नता र अर्थपुण एवं सम्मान जनक सहभागिता गराउनु हो । त्यसरी नै ती नीति नियम सबै अपाङ्गता भएको व्यक्तिको पहुँचमा हुनेगरी बनाउनु, त्यसको प्रभावकारी रूपमा कार्यान्वयन गर्नु, कार्यान्वयन हुँदा अपाङ्गता भएका व्यक्तिहरूलाई विभेद नगर्नू जस्ता कार्यहरू जोडिएर आउने थप महत्वपुर्ण पक्ष हुन् र यसको निश्चित गर्नु संस्था वा मण्डलीको जिम्मेवारी हुन आउँछ । उदाहरणको लागि संस्था वा मण्डलीको नियम वा शिक्षाले आफैलाई प्रश्न गर्नु पर्ने हुन्छ कि, के संस्था वा मण्डलीले अपाङ्गता भएको दलित महिला व्यक्तिलाई संस्थाको अध्यक्ष वा मण्डलीको पास्टर हुने अनुमति दिन्छ ? वा मण्डलीका पुलपिटवाट प्रचार गर्ने अनुमति छ ? यी नीति र धार्मिक अभ्यासहरू अझ कसरी माथि अपाङ्गता समावेशीकरण प्रकृया अनुरूप अपाङ्गता समावेशी बनाउन सकिन्छ भन्ने सवालमा इसाई समुदाय भित्र थप छलफल र अध्ययन गर्नू आवश्यक देखिन्छ ।
धारणा र व्यवहार:
माथि अपाङ्गताको परिभाषामा उल्लेख गरे बमोजिम, व्यक्तिको क्षीणता भन्दा पनि धारणा र व्यवहार गत वाधाहरूले अपाङ्गता भएका व्यक्तहरूलाई सुरुमै वहिष्करण गर्दछ । अपाङ्गता भएको व्यक्ति प्रति संस्था र मण्डलीका व्यक्तिहरूको धारणा र प्रवृति कस्तो छ र बाइबलिय आधारमा यसलाई कसरी बुझ्नुपर्छ र अभ्यास गर्नु पर्छ भन्ने विषयमा उच्चतम तहमा छलफल हुनु जरुरी छ । यो बदलिँदो परिस्थितिमा अपाङ्गता पापको कारणबाट आउँछ भन्ने र अपाङ्गता भएको व्यक्तिहरू अरूमा भर पर्ने व्यक्ति वा उनीहरूलाई बिचरो वा दयाको पात्रको रूपमा हेर्ने मानसिकतामा परिवर्तन ल्याउनु जरुरी देखिन्छ जसमा अपाङ्गता भएका व्यक्तिहरूको अन्य अपाङ्गता नभएका व्यक्ति सरह सेवा सुविधा पाउनु उनीहरूको अधिकारको रूपमा स्विकार्नु पर्दछ । बाइबलले भन्छ परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो, त्यो हेर्नुभयो र त्यो साह्ररै सुन्दर थियो (उत्पति १: २७ र ३१) ।, यसको मतलब संसारका सबै फुलहरू सुन्दर छन् दोष सृष्टिको होइन दृष्टिको हो । तसर्थ मुख्य कुरा यहाँ के बुझन सकिन्छ भने अपाङ्गता भएका व्यक्तिहरू प्रति हाम्रो दृष्टि सकारात्मक रूपमा परिवर्तन गर्नु जरुरी हुन्छ र सोही अनुसार हाम्रो व्यवहार र प्रवृति उनीहरू प्रति सकारात्मक बनाउनु आवश्यक हुन्छ । यो कसरी गर्ने त ? हाम्रा हरेक बोलीचाली, भाषा शैली, काम सबै अपाङ्गता भएका व्यक्तिहरूलाई स्वागत योग्य बनाउने, उनीहरूलाई बोलीचाली र लेखाइमा सम्बोधन गर्दा नम्र र शभ्य भाषा प्रयोग गर्ने र अपाङ्गता शिष्टाचारको प्रयोग गर्ने । नेपाल सरकारले जारी गरेको अपाङ्गता मैत्री संचार निर्देशिका २०७३ ले तोकिए अनुसारका शब्दावलीहरू जस्तै अपाङ्गता भएको व्यक्ति, शारीरिक अपाङ्गता भएको व्यक्ति, मनोसामाजिक, बौद्धिक, बहिरा, स्वर-बोलाई सम्बन्धी अपाङ्गता भएको व्यक्ति, न्यून दृष्टि भएको, अटिज्म भएको, मस्तिष्क पक्षाघात भएको, होचापुडका भएको, पोलियोमाईलाईटिस भएको, कुष्ठ प्रभावित भएको, एम्प्युटि भएको, डाउन सिन्ड्रोम भएको, भकभके अपाङ्गता भएको व्यक्ति भनेर बोलीभाषा र लेखन दुवैमा संवोधन गर्नु पर्ने हुन्छ । त्यसैले संस्थाका कागजात तथा बाइबल र यससँग सम्बन्धित सबै प्रकाशनहरूमा अपाङ्गता भएका व्यक्तिहरूलाई ठेस पुग्ने शब्दहरू र कुनैपनि उखानतुक्काहरू उल्लेख गर्नु हुँदैन र भएका प्रकाशनहरू परिमार्जित हुनु जरुरी देखिन्छ । त्यसैगरी उनीहरूसँग व्यवहार गर्दा संवेदनशील हुनुपर्ने अझ महत्वोपूर्ण पक्ष देखिन्छ ।
भौतिक तथा संचारगत वातावरण
यस अन्तर्गत संस्था र मण्डलीका भौतिक र सञ्चार पूर्वाधारहरू जस्तै: व्यक्तिगत वा सार्वजनिक भवनहरू, , सडकहरू, यातायातका साधनहरू, सञ्चारका साधनहरू, चिकित्सा सुविधा र कार्यस्थलहरू, मनोरञ्जन स्थलहरू, विद्युतीय सेवा र आपतकालीन सेवा लगायतका सूचना, सञ्चार र अन्य सेवाहरू पर्दछन ।
यूएमएनमा काम गर्ने क्रममा कतिपय दृष्यविहिन र व्हीलचेयर प्रयोग गर्ने अपाङ्गता भएका व्यक्तिहरूको अनुभव सुन्दा निकै दुख लाग्छ । संस्था र मण्डलीहरूको प्रवेशद्वारा, रिसेप्सन क्षेत्र र बैठक कक्ष अपाङ्गता मैत्री नभएको कारण बाहिरबाटै फर्कनु परेको र कतिपय ठाउँमा कार्यालय र मण्डली परिसर छिरे पनि चर्पी नभएको कारण वस्न नसकेर तुरुन्तै फर्केको र निकै दुख खेप्नु परेको तीतो अनुभव त्यो अवस्था भोगेका अपाङ्गता भएका व्यक्तिहरूबाट सुनेको छु । त्यसैले संस्था वा मण्डलीहरूमा मुख्यगरी छ ठाउँहरू जस्तै प्रवेशद्वार, चर्पी, खानेपानी, बैठक कोठा, रिसेप्सन क्षेत्र र मनोरञ्जन क्षेत्रहरू न्यूनतम मापदण्ड पुरागरी अपाङ्गता मैत्री बनाउनुपर्छ । मापदण्डको लागि नेपाल सरकारले जारी गरेको अपाङ्गता भएका व्यक्तिकालागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ लाई अनुसरण गर्नु पर्छ यदि ¥याम्प आवश्यक हो भने ¥याम्प कम्तीमा १ फिट अग्लो बनाउने हो भने १२ देखि १५ फिट टाढाबाट ¥याम्प को उचाइ उठाउनु पर्छ भने त्यसको चौडाइ कम्तीमा ३ फिट हुनुपर्छ । त्यसैगरी संस्थाको सूचनाका माध्यमहरू जस्तै संस्थाको वडा पत्र, वार्षिक वा आवधिक प्रतिवेदनहरू, अन्य प्रकाशनहरू र वेबसाइट सबै प्रकारका अपाङ्गता भएको व्यक्तिको पहुँययुक्त हुनु पर्दछ भने सामूहिक छलफल, बैठक, गोष्ठी, तालिमहरूमा आवश्यकता अनुसार दोभाषे, सहयोगी र ब्रेल सामग्रीहरूको व्यवस्था गर्नु पर्छ । साथै अपाङ्गता भएका व्यक्तिहरूको लागि आवश्यक सहायक सामग्रीहरू जस्तै ह्वीलचेयर, बैसाखी, सेतो छडी, चश्मा, लेन्सहरू, वाकर, कृतिम अंगहरु, दोभाषे र ब्रेल सामग्रीहरू आदिको व्यवस्था गर्नु र उचित तालिम सहित सो सामग्रीहरू आवश्यक पर्ने अपाङ्गता भएका व्यक्तिहरूलाई उपलब्ध गराउनु पनि यस अन्तर्गतको मुख्य कार्यहरू पर्छन् ।
समग्रमा संस्था र मण्डलीहरूले यी तीन पक्षहरू (नीति नियम, धारणा र भौतिक तथा संचार) मा केन्द्रित भई अपाङ्गता भएको व्यक्तिहरूको पहिचान गर्नु, उनीहरूको आवश्यकता लेखाजोखा गर्नु, जोखिममा परेका दलित, महिला र विपन्न वर्गका गम्भीर प्रकृति का अपाङ्गता भएका व्यक्तिहरूको समस्या र आवश्यकतालाई प्राथमिकतामा राख्नु र उनीहरूको सामाजिक, आर्थिक, मनोसामाजिक र भौतिक विकासलाई दिगो समाधानको लागि प्रयास गर्नु जस्ता कार्यहरू प्रमुखहरूमा ध्यान दिनु अति नै महत्वो पूर्ण हुन्छ ।

यहाँ दाँया पट्टी चित्र मा देखाए झैँ अपाङ्गता भएको व्यक्ति स्वंम भित्रको अवरोधहरू हटेको, उसको आत्मबल वृधि भएको, सेवा र आवश्यक सहायक सामग्रीमा सहज पहुँच भएको, सहज भौतिक बाटोघाटो र सुचना संचारको पहुँच भएको, सेवा प्रदायक निकायको अपाङ्गता भएका व्यक्तहरू प्रति को धारणा र व्यवहार सकारात्मक भएको तथा सबै सेवा र सुविधा युक्त नीति नियम, कानुन र त्यसको प्रभावकारी अभ्यास भएको अवस्था नै वास्तवमा अपाङ्गता मैत्री, समावेशी वा सबैको लागि समाज भएको अवस्था हो । तपाई हामी सबैको आजदेखि को सानो प्रयासको सुरुवातबाट नै यो अवस्थालाई हामी व्यवहारमा उतार्न सक्छौ ।
अन्त्यमा, नेपालको संबिधान र सो संबिधान अनुरुप बनेकोअपाङ्गता अधिकार ऐन २०७४ अनुसार अपाङ्गता भएका व्यक्तिहरूको सम्मान एवं अधिकार प्रवर्द्धनका लागि राज्य लगायत हामी नागरिक समाज र इसाई समुदायले विकास र सम्पूर्ण सामाजिक कार्यहरुमा अपाङ्गता भएको व्यक्तिको अर्थपूर्ण समावेशीता, र सहभागितामा जोड दिनुपर्ने देखिन्छ । र अपाङ्गता भएको व्यक्तिको मुख्य अधिकारहरूमा प्रचलित कानुन अन्तर्गत अधिकारहरूको उपयोग गर्न पाउने अधिकार, विभेद विरुद्धको अधिकार, सामुदायिक जीवनको अधिकार, सुरक्षाको अधिकार, नीति–निर्माणमा सहभागी हुन पाउने अधिकार, सांस्कृतिक जीवनमा सहभागी हुन पाउने अधिकार, सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार, सूचनाको अधिकार जस्ता प्रमुख अधिकारहरूलाई सुनिश्चित गर्ने पक्षमा सबैको ध्यान र प्रयास हुनु जरुरी छ जसको लागि विद्धमान सामाजिक, भौतिक, संचारगत, नीतिगत अवरोधहरु पहिचान गर्नु, विश्लेषण गर्नु र हटाउनु, शक्ति संरचनामा अपाङ्गता भएका व्यक्तिको पहुच बृधि गर्नु र स्वाबलम्बी, सम्मानित र बिकास मा योगदान दिनसक्ने नागरिक तयार पार्नमा सबैको एककेबधता हुनु जरुरि देखिन्छ ।
अपाङ्गता समाबेशीकरण बारे थप बुझ्न र जानकारी लिन परेमा, यूएमएन द्वारा प्रकाशण गरेको अपाङ्गता समाबेशीकरण श्रोत पुस्तिका २०८० यूएमएनको वेब साइड मार्फत डाउनलोड गरि पढ्न सक्नुहुन्छ । यहाँहरुको सजिलोकोलागी यसको लिंक पनि यहा राखिएको छ ।
https://web.umn.org.np/umn-products/1201
लेखक बिरबहादुर बस्याल यूएमएनमा 'अपाङ्गता समावेशीकरण ' सल्लाहकार हुनुहुन्छ ।














प्रतिकृया दिनुहोस