इजरेल सरकार नेपाल सरकारसँग सहकार्य गर्न तयार : राजदूत बास

तुरही न्यूज । ६ जेठ २०८३ । काठमाडौं । नेपालका लागि इजरेली राजदूत महामहिम स्मुलिक एरी बासले नेपालको नयाँ सरकारले आर्थिक वृद्धि, रोजगारी सिर्जना, डिजिटल विकास, कृषि सुधार तथा युवालाई प्राथमिकतामा राखेको वर्तमान अवस्थामा इजरेल सरकार नेपालसँग अनुभव बाँड्न र सहकार्य गर्न तयार रहेको बताउनुभएको छ ।

बुधबार साँझ नक्सालस्थित मेरिएट होटलमा आयोजित इजरायलको ७८औँ स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै राजदूत बासले उक्त कुरा बताउनु भएको हो ।

उहाँले नेपाल र इजरायलबीचको मित्रवत सम्बन्धलाई थप सुदृढ बनाउँदै शिक्षा, उद्यमशीलता, जल व्यवस्थापन तथा रोजगारीका क्षेत्रमा सहकार्यका नयाँ सम्भावनाहरू अघि बढाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।

समारोहलाई सम्बोधन गर्दै राजदूत बासले नेपाल र इजरायलबीच बढ्दो मित्रता तथा सहकार्यको चर्चा गर्दै नवप्रवर्तन, कृषि, प्रविधि, शिक्षा तथा नेपाली युवाका लागि रोजगारीका अवसरका क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा उहाँले इजरायललाई नवप्रवर्तन र विश्वव्यापी सफलतामा रूपान्तरण गर्न सफल राष्ट्रका रूपमा वर्णन गर्नुका साथै डिजिटल नेभिगेसन, साइबर सुरक्षा, जल व्यवस्थापन तथा आधुनिक कृषिजस्ता क्षेत्रमा इजरायलले हासिल गरेको प्रगतिलाई विकासका लागि नवप्रवर्तनको उदाहरणका रूपमा प्रस्तुत गर्नुभयो ।

उहाँले नेपाल र इजरायल भूगोल तथा आकारमा फरक भए पनि सहनशीलता, शिक्षा र प्रगतिप्रतिको साझा विश्वासले जोडिएको उल्लेख गर्दै कृषि, जल व्यवस्थापन, उद्यमशीलता तथा प्रविधिका क्षेत्रमा इजरायलको अनुभवले नेपालको आर्थिक वृद्धि, रोजगारी सिर्जना तथा डिजिटल रूपान्तरणका प्राथमिकतालाई सहयोग गर्न सक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा इजरायलको अन्तर्राष्ट्रिय विकास सहकार्य निकाय ‘मासभ’ मार्फत धेरै नेपाली पेशाकर्मीहरूले तालिम तथा क्षमता अभिवृद्धिका अवसर प्राप्त गरेको विषय पनि उल्लेख गरिएको थियो। साथै, ‘लर्न एण्ड अर्न’ कार्यक्रम तथा इजरायलमा उपलब्ध रोजगारीका अवसरहरूले नेपाली युवालाई सीप, कार्यानुभव तथा पारिवारिक आर्थिक सहयोगको अवसर प्रदान गरेको बताइएको थियो ।

नेपालका प्रजातान्त्रिक नेता द्य.ए. प्यष्चबबि को दृष्टिकोणलाई स्मरण गर्दै महामहिम बासले विकास केवल पूर्वाधार वा आर्थिक सूचकांकमा सीमित नहुने, बरु मानव मर्यादा, अवसर तथा सशक्तीकरणसँग पनि सम्बन्धित हुने बताउनुभयो ।

समारोहमा नेपाल–इजरायल सम्बन्धलाई अझ सुदृढ बनाउने तथा विकास, नवप्रवर्तन र जनस्तरको सम्बन्ध विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। कार्यक्रममा नेपाल तथा इजरायलका कूटनीतिज्ञ, सरकारी अधिकारी, विकास साझेदार तथा विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।


 

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस