रसुवाका बाढीपीडितलाई क्यामेन नेपाली चर्चको रु. २ लाख ३५ हजार राहत
तुरही न्यूज | काठमाडौं | भदौ १० गते, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवाका परिवारलाई क्यामेन नेपाली चर्चले २ लाख ३५ हजार रुपैयाँ राहत वितरण गरेको छ। बाढीमा आफन्त गुमाएका तथा प्रभावित ४३ घरधुरी र ४ जना पास्टर गरी ४७ लाभग्राहीलाई प्रतिव्यक्ति वा घरधुरी पाँच हजार रुपैयाँका दरले राहत उपलब्ध गराइएको हो।
आमाछोदिङ्मो गाउँपालिकाको पाजुङ तथा गोसाइँकुण्ड गाउँपालिकाका मेन्दुगाउँ र दाहालफेदीका बाढीपीडित परिवारलाई उक्त राहत वितरण गरिएको हो। राहत प्राप्त गर्नेहरूमा पाजुङका १० घरधुरी, मेन्दुगाउँका १८ घरधुरी र दाहालफेदीका १५ घरधुरी रहेका छन्। यसका अतिरिक्त चार जना पास्टरलाई पनि राहत प्रदान गरिएको थियो।
.jpg)
क्यामेन नेपाली चर्चका पास्टर अनिल भण्डारीले तिब्बतको लेन्दे खोलाहुँदै नेपालको भोटेकोशी नदीमा आएको बाढीका कारण आफन्त गुमाएका तथा प्रभावित परिवारलाई राहत वितरण गर्न पाउनु आफ्नो चर्चका लागि अवसर भएको बताउनुभयो। उहाँले पीडितहरूको दुःखमा थोरै भए पनि मलम लगाउने प्रयास गरिएको उल्लेख गर्नुभयो।
राहत प्राप्त गरेपछि पाजुङ ख्रिष्टको मण्डलीका पास्टर सार्की लामा तामाङले बाढीपीडितका तर्फबाट क्यामेन नेपाली चर्चको परिवार र पास्टर अनिल भण्डारीप्रति हृदयदेखि नै धन्यवाद व्यक्त गर्नुभयो।
काठमाडौंस्थित उपहार टिभी र किङडम भ्वाइस एफएमको टोली रसुवाको आमाछोदिङ्मो र गोसाइँकुण्ड गाउँपालिकाका विभिन्न बस्तीमा पुगेर राहत वितरण कार्यक्रम सम्पन्न गरेको हो।
उपहार टिभी र किङडम भ्वाइस एफएमको बाढी प्रभावित क्षेत्रमा गरिएको रिपोर्टिङ तथा राहत वितरण कार्यक्रमका लागि क्यामेन नेपाली चर्चबाट कुल रु. २ लाख ४८ हजार ५०० प्राप्त भएको थियो। उक्त रकममध्ये रु. २ लाख ३५ हजार राहत वितरणमा खर्च गरिएको छ भने बाँकी रु. १३ हजार ५०० यातायात खर्चमा प्रयोग गरिएको छ।












प्रतिकृया दिनुहोस