भोटेकोशी बाढीले चर्चका २०० सदस्य सम्पर्कविहीन, ९ चर्च भवनमा क्षति
कुमारसिंह विष्ट, काठमाडौं, नेपाल । २ सेप्टेम्बर २०२६ । गत २६ अगस्टमा चीनको केरुङ क्षेत्रबाट रसुवाको भोटेकोशी नदी हुँदै आएको प्रलयकारी भीषण बाढीका कारण ९ वटा चर्च भवनमा पूर्ण रूपमा क्षति पुगेको र २ सयभन्दा बढी चर्चका सदस्यहरू सम्पर्कविहीन भएका छन् ।
नेसनल चर्चेज फेलोसिप अफ नेपाल (एनसीएफ) का अध्यक्ष पास्टर डा. किरणकुमार दासले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म बाढी प्रभावित रसुवा र नुवाकोट जिल्लामा गरी ९ वटा चर्च भवनमा क्षति पुगेको र २ सयभन्दा बढी चर्चका सदस्यहरू सम्पर्कविहीन रहेको बताउनुभएको छ ।
राष्ट्रिय विपत्तिका रूपमा देखिएको भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित चर्च तथा ख्रीष्टियन समुदायको राहत, उद्धार र पुनर्निर्माणका लागि विश्वभरका चर्च समुदाय एकजुट हुनुपर्नेमा अध्यक्ष डा. दासले जोड दिनुभएको छ ।
बाढीका कारण हराइरहेका मानिसहरूको खोजी तथा उद्धारमा नेपाल सरकारले गरिरहेको प्रयासको प्रशंसा गर्दै अध्यक्ष दासले अहिलेको संकटपूर्ण अवस्थामा प्रभावित परिवारलाई सहयोग गर्न विश्वभरका चर्च समुदाय राहत संकलनमा एकजुट हुनुपर्ने बताउनुभएको हो ।
अध्यक्ष दासले बाढीका कारण रसुवा र नुवाकोटका चर्चहरूमा भएको भौतिक तथा मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै क्षतिग्रस्त तथा भत्किएका चर्च भवनहरूको पुनर्निर्माणका लागि विश्व चर्च समुदायसँग आर्थिक सहयोगको अपिल गर्नुभएको छ ।
.jpeg)
बाढी प्रभावित चर्च तथा ख्रीष्टियन समुदायलाई राहत वितरण गर्नुका साथै क्षतिग्रस्त चर्च भवनहरूको पुनर्निर्माणमा सहयोग पु¥याउने उद्देश्यले एनसीएफ नेपाल र एनसीएफ नेपालको रिलिफ एन्ड रिबिल्ड वर्किङ कमिटीले संयुक्त कार्यदल गठन गरेको पनि अध्यक्ष दासले जानकारी दिनुभएको छ। उहाँका अनुसार उक्त कार्यदलले राहत तथा पुनर्निर्माणका कामलाई समन्वयात्मक रूपमा अघि बढाउनेछ ।
अध्यक्ष दासले, “देश अहिले शोकमा छ, मानिसहरू टुटेका छन्, हृदय भाँचिएको छ। तर यही अवस्थामा हामीले बाढी प्रभावित क्षेत्रमा गएर येशूको प्रेम बाँड्नु उपयुक्त समय हो,” भन्दै विश्वभर रहेका नेपालीभाषी चर्चहरूलाई प्रभावित समुदायका लागि प्रार्थना तथा आर्थिक सहयोगमा जुट्न आग्रह गर्नुभएको छ ।
नेपाल ख्रिष्टियन समाजका महासचिव पास्टर राजेन्द्र मल्लले विगतमा यस्ता प्राकृतिक प्रकोपमा राज्यबाट चर्चमा भएको क्षतिलाई वास्ता नगरेको भन्दै देश तथा विदेशमा रहेका नेपालीभाषी चर्चहरूलाई बाढी प्रभावित चर्च भवनहरूको पुनर्निर्माण तथा चर्चका सदस्यहरूको राहतका लागि सहयोग गर्न अपिल गर्नुभएको छ ।
महासचिव मल्लले बाढीका कारण राष्ट्र नै शोकमा परेको वर्तमान अवस्थामा बाढी प्रभावित क्षेत्रमा देशभरका चर्चका सदस्यहरू खोजी तथा उद्धार र राहत कार्यमा खटिएर बाढीपीडितहरूको घाउमा मल्हमपट्टी लगाउन अग्रसर हुनुपर्ने बताउनुभएको छ ।
इसाई समाज रसुवाका अध्यक्ष पास्टर बालकृष्ण श्रेष्ठले हालसम्म भोटेकोशी बाढीका कारण रसुवामा ३ वटा चर्च भवन पूर्ण रूपमा ध्वस्त भएको र एक सयभन्दा बढी चर्चका सदस्यहरू सम्पर्कविहीन भएको पुष्टि गर्नुभएको छ ।
अध्यक्ष श्रेष्ठका अनुसार भोटेकोशी बाढीका कारण क्षति भएका रसुवा जिल्लाका चर्चहरूमा बेरिया चर्च, स्याप्रुबेसी, पुनरुत्थान चर्च बेत्रावती र इम्मानुएल चर्च बेत्रावती रहेका छन् ।
इसाई समाज रसुवाका अध्यक्ष पास्टर बालकृष्ण श्रेष्ठका अनुसार रसुवा जिल्लामा हालसम्म ४२ वटा चर्च छन्। वि.सं. २०४८ सालदेखि रसुवामा चर्चहरू स्थापना हुन थालेका हुन् भने हालसम्म जिल्लामा २ हजार ५ सय चर्चका सदस्यहरू रहेको उहाँले बताउनुभएको छ ।
अध्यक्ष श्रेष्ठले २०७२ सालको भूकम्पले ठूलो क्षति पु¥याएको र अहिले बाढीका कारण चर्चमा ठूलो मानवीय तथा भौतिक क्षति भएकोमा आफू निकै दुःखी भएको बताउनुभएको छ । उहाँले यस्तो दुःखको अवस्थामा विश्वभर रहेका नेपालीभाषी चर्चहरूलाई प्रार्थनासहित चर्च भवनहरूको पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्न अपिल गर्नुभएको छ ।
उहाँले यस्ता प्राकृतिक प्रकोपमा राज्यले चर्च भवन पुनर्निर्माणका लागि आर्थिक सहयोग नगरेको भन्दै चर्च भवन पुनर्निर्माणका लागि विश्वभरका चर्चहरू एक भएर सहयोग गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।

नुवाकोट इसाई एकता समाज, नुवाकोटका अध्यक्ष पास्टर राजन गुरुङले भोटेकोशी बाढीका कारण नुवाकोटमा ५ वटा चर्च भवनमा क्षति पुगेको र एउटा चर्च भवनमा आंशिक रूपमा क्षति भएको बताउनुभएको छ। उहाँले बाढीका कारण नुवाकोटमा एक सयभन्दा बढी चर्चका सदस्यहरू सम्पर्कविहीन रहेको पुष्टि गर्नुभएको छ ।
अध्यक्ष गुरुङका अनुसार बाढीका कारण नुवाकोट जिल्लामा क्षति भएका चर्चहरूमा बिलिभर्स इस्टर्न चर्च देवीघाट, बिलिभर्स इस्टर्न चर्च अक्करे, पुनरुत्थान स्वतन्त्र चर्च बेत्रावती र घोडेनी एजी संगति त्रिशूली रहेका छन् भने नवज्योति ब्याप्टिस्ट चर्च भवनमा आंशिक रूपमा क्षति पुगेको छ ।
नुवाकोट इसाई एकता समाजका सल्लाहकार पास्टर ईश्वर पुडासैनीले आफ्नै आँखाअघि बन्दुकको गोलीको गतिमा आएको भीषण बाढीले अकल्पनीय क्षति पु¥याएको देख्दा आफूलाई सम्हाल्न नसकेको र अहिलेसम्म पनि बाढीको घटनाले आफूलाई ट्रमा भएको बताउनुभएको छ। उहाँले बाढी प्रभावितहरूका लागि राहत सहयोग गर्न चर्च समुदायलाई अपिल गर्नुभएको छ ।
पास्टर पुडासैनीका अनुसार नुवाकोटमा वि.सं. २०२८ सालमा सुसमाचारको काम सुरु भएको हो। नुवाकोट जिल्लाभरि हालसम्म १८० वटा चर्च रहेका छन् भने १३ हजार चर्चका सदस्यहरू रहेको उहाँले बताउनुभएको छ ।
एसेम्ब्लीज अफ गड नेपालका अध्यक्ष पास्टर सेल्बोन तामाङले नुवाकोटमा अहिले राहतको ठूलो आवश्यकता रहेको बताउनुभएको छ । उहाँले नुवाकोटको त्रिशूलीस्थित आफ्नै चर्च त्रिशूली एजी चर्चमा बाढी प्रभावितहरूका लागि होल्डिङ सेन्टर सञ्चालनमा रहेको र दुई सयभन्दा बढी पीडितहरूले त्यहाँ आश्रय लिइरहेको बताउनुभएको छ ।

सामुदायिक विकासविद् डा. नवराज पन्तले यस्तो विपद्को अवस्थामा नेपालका चर्चहरूले बाढी प्रभावित क्षेत्रमा गएर रेस्क्यु, राहत र पुनर्निर्माणमा स्वस्फूर्त रूपमा सेवा गर्नुपर्ने सुझाव दिनुभएको छ ।
उहाँले नदी किनारमा रहेका बस्तीहरूलाई सरकारले सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउँदै अब रसुवा र नुवाकोटका बाढी प्रभावित जनताका लागि नेपाल सरकारले नयाँ स्थानमा नयाँ बस्ती नै बसाउनुपर्ने भन्दै राज्यको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाल सरकारका अनुसार यो समाचार तयार पार्दासम्म भोटेकोशीको भीषण बाढीका कारण हालसम्म मृत्यु हुनेको संख्या १ हजार नाघेको छ भने ४ हजारभन्दा बढी मानिस सम्पर्कविहीन छन् । नेपाल सरकारले बाढीका कारण १६ लाख मानिस प्रभावित भएको जनाएको छ ।












प्रतिकृया दिनुहोस