नुवाकोटका बाढी प्रभावित परिवारलाई इजरायलद्वारा दोस्रो चरणको आपत्कालीन राहत सहयोग

कुमारसिंह विष्ट, काठमाडौं । २६ भदौ २०८३ । नेपालस्थित इजरायलको दूतावासले नुवाकोटको विदुर नगरपालिका–२, त्रिशूलीमा विनाशकारी बाढीबाट प्रभावित परिवारलाई निरन्तर आपत्कालीन मानवीय सहायता प्रदान गरेको छ । 

बिहीबार नेपालस्थित इजरायल दूतावासकी कार्यवाहक राजदूत सुश्री जनान बेबारले स्थानीय सरकारका प्रतिनिधिहरूसँग भेट गरी दोस्रो चरणको राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । 

कार्यवाहक राजदूत बेबारले नुवाकोटको बाढी प्रभावित क्षेत्रको भ्रमण गरी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग पु¥याउने उद्देश्यले आपत्कालीन गो–ब्याग तथा अत्यावश्यक सामग्रीसहितका बाकसहरू हस्तान्तरण गर्नुभएको नेपालस्थित इजरायली दूतावासले जनाएको छ ।

सो अवसरमा सुश्री बेबारले भन्नुभयो, “हामी सबै पीडा हटाउन नसकौंला, तर हामी एकताबद्ध भएर एकअर्कालाई सहयोग गर्न सक्छौं र कसैले आफू एक्लो महसुस गर्न नपरोस् भन्ने सुनिश्चित गर्न सक्छौं। त्रिशूलीमा मैले यही अनुभूति गरे । पीडा निकै वास्तविक थियो, तर त्यत्तिकै वास्तविक मानवीय साहस र एकता पनि थियो । मलाई विश्वास छ, यो नेपालको लागि गर्व गर्नुपर्ने कुरा हो। यो निरन्तर सहयोगले बाढीबाट प्रभावित समुदायको पुनःस्थापना र पुनःप्राप्तिको प्रक्रियामा सहयोग गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।”

दूतावासले प्रभावित समुदायको अवस्था र बदलिँदो आवश्यकताबारे जानकारी लिन तथा मूल्याङ्कन गर्न सम्बन्धित नेपाली सरकारी निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ । राहत तथा पुनःस्थापनाका प्रयासहरू अघि बढ्दै जाँदा पहिचान भएका आवश्यकताअनुसार निरन्तर सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि दूतावासले जनाएको छ ।

इजरायलको दूतावासले बाढी प्रभावित परिवारप्रति आफ्नो ऐक्यबद्धता पुनः व्यक्त गर्दै बाढीबाट प्रभावितहरूलाई सहयोग गर्न स्थलमा खटिएका सरकारी निकाय, पहिलो उद्धारकर्ता टोली, स्थानीय सरकार तथा स्वयंसेवकहरूप्रति आभार व्यक्त गरेको छ ।

बाढी प्रभावित क्षेत्रमा गरिएको यो सहयोग दूतावासको राहत प्रतिक्रियाको दोस्रो चरण हो। यसअघि दूतावासले धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित समुदायलाई प्रारम्भिक राहत सहयोग प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस

यो पनि पढ्नुस