नुवाकोट र रसुवाका बाढीपीडित २३२ घरधुरीलाई बीएनसीएको राहत वितरण
काठमाडौं, २ असोज २०८३ । नुवाकोट र रसुवा जिल्लाका बाढी प्रभावित २३२ घरधुरीलाई अमेरिकास्थित नेपालीभाषी चर्चहरूको साझा संगठन भुटनिज नेप्लिज चर्चेज अफ अमेरिका (बीएनसीए) ले राहत सामग्री वितरण गरेको छ।
अमेरिकाबाट आएको बीएनसीए रिलिफ मिसन टिम बाढी प्रभावित क्षेत्रमा पुगेर बिहीबार र शुक्रबार राहत सामग्री वितरण गरेको हो।
बीएनसीएका मिसन डाइरेक्टर रेभ. डा. प्रकाशमेघी गुरुङका अनुसार रसुवाका विभिन्न बाढी प्रभावित क्षेत्रबाट विस्थापित भई नुवाकोटको वटारस्थित होल्डिङ सेन्टरमा अस्थायी रूपमा बसोबास गरिरहेका १२९ घरधुरी र नुवाकोटकै वेत्रावतीमा अस्थायी टहरामा बसिरहेका १०३ घरधुरीलाई राहत सामग्री वितरण गरिएको हो।
राहत वितरणका क्रममा बीएनसीए रिलिफ मिसन टिमका सदस्य रेभ. नर्बु तामाङले बाढी प्रभावित परिवारको दुःख र शोकमा सहभागी हुँदै सहयोग गर्नु अमेरिकामा रहेका भुटनिज–नेपालीभाषी चर्चहरूको साझा कर्तव्य भएको बताउनुभयो।
उहाँले विपद्को कठिन अवस्थामा पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्री लिएर आफूहरू प्रभावित क्षेत्रमा आएको बताउनुभयो।
बीएनसीएले वितरण गरेको राहत सामग्रीमा लत्ताकपडालगायत आवश्यक सामग्री रहेका छन्।











प्रतिकृया दिनुहोस